गर्मीमा निःशुल्क पानी पिउने व्यवस्था गर्दै विष्णुनाथ
Monday, June 12th, 2023, 8:53 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २९ जेठ
गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कर्जा प्रमुख एवम समाजसेवी विष्णुनाथ योगीले गर्मीका कारण प्रभावित भैरहेका जनतालाई नेपालगन्जमा निःशुल्क पिउने पानी वितरण गरेका छन् । नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २ को बागेश्वरी मन्दिर परिसर गेट अगाडी र हनुमान गढी मन्दिर परिसरमा योगीले चिसो पिउने पानीको निःशुल्क रुपमा वितरण गरिरहेका छन् ।
स्थानीय केहि साथीहरुको सहयोगमा आफुले व्यक्तिगत रुपमा सर्वसाधरणलाई पानी पिउने व्यवस्था गरेको समाजसेवी योगीले बताए । उनले भने,‘गर्मीका कारण अहिले नेपालगन्ज सहरमा मानिसको दैनिक अवस्था कठिन बनेको छ । सडकमा हिडिरेहका मानिसलाई चिसो पिउने पानी खुवाउन सके पनि ठुलो धर्म हुन सक्छ भनेर पानी पिउने व्यवस्था मिलाएको छु ।’ आइतबारबाट पानी खुवाउने अभियान सुरु गरेका योगीले गर्मी कम नहुने अवस्था सम्म कार्यलाई जारी राख्ने बताएका छन् ।
मंगलबारदेखि नेपालगन्जको सडकमा रहेका गाईगोरु र अन्य जनावरलाई पनि पानी खुवाउने अभियान सुरु गर्ने योगीले कालपृष्ठ दैनिकलाई बताए । गुरुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कर्जा प्रमुख एवम समाजसेवी विष्णुनाथ योगीले यसअघि पनि विभिन्न सामाजिक कार्य गर्दै आएका छन् । उनले आफनो व्यक्तिगत प्रयासमा जाडोको समयमा नेपालगन्जका विभिन्न टोलमा निःशुल्क दाउरा वितरण गर्ने देखि लिएर विपन्न वर्गका मानिसको उपचारमा आर्थिक सहयोग गर्दै आएका छन् ।