नेपालगन्जलाई स्वच्छ र स्वस्थ सहर बनाउने प्रतिबद्वता
Saturday, June 17th, 2023, 7:41 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २ असार
गर्मीबाट राहातका लागि नेपालगन्जमा बढी भन्दा बढी वृक्षारोपण गरी सहरलाई हरियो, स्वच्छ र सफा बनाउनुपर्नेमा विभिन्न सरोकारवाला एक मत देखिएका छन् । त्यसका लागि उनीहरूले आ–आफ्नो ठाउँबाट आवश्यक काम र सहयोग गर्ने प्रतिबद्वता समेत जनाएका छन् ।
भेरी वातावरणीय विशिष्टता समूह बी–ग्रुप ले आयोजना गरेको एक कार्यक्रममा सहभागिहरुद्वारा सो प्रतिबद्वता जनाएको हो । कार्यक्रममा सहभागी वातावरण संरक्षणमा सक्रिय अगुवा लगायत अन्य अधिकांश सरोकारवालाले नेपालगन्जमा बढी भन्दा बढी वृक्षारोपणसँगै त्यसको संरक्षण र सरसफाइमा ध्यान दिनुपर्नेमा जोड दिए ।
नेपालगन्ज उप–महानगरपालिकाको वातावरण महाशाखाका प्रमुख प्रकाश डिसीले नेपालगन्जलाई हरियो र सफा सहर बनाउने उपमहानगरको प्रमुख लक्ष्य रहेको र सोही अनुसार काम भइरहेको जनाउँदै सो कार्यमा जनताको सहयोग आवश्यक रहेको बताए ।
हरित अभियानकर्ता हेमन्तराज काफ्लेले आफूले दिनरात नगरमा वृक्षारोपण र बिरुवा संरक्षणकै लागि काम गरिरहेको जनाउँदै सो कार्यमा स्थानीय सरकारको अझै बढी सहयोग माग गरे ।
‘क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्ज’का अगुवा डा. विनोद कर्णले नेपालगन्जलाई सफा र हरियो बनाउन वृक्षारोपण र सरसफाइमा आफूहरू दिनरात खटिएको बताए । उनले वृक्षारोपण मात्र नगरी संरक्षणमा पनि उत्तिकै ध्यान दिनुपर्नेमा जोड दिए ।
वातावरण संरक्षण अभियन्ता तेजविक्रम शाहले तरकारी र कृषि उत्पादनमा विषादीको प्रयोग बन्द गराउनु पर्ने माग गर्दै यसवर्ष आफूहरूले मात्र दश हजार बिरुवा रोप्ने बताए । अधिकांश सहभागीले बढ्दो तापक्रमलाई हेरेर सहरलाई जोगाउन रुखको महत्त्वपूर्ण भूमिकाको वकालत गर्न र सहरमा छिटो रुख रोप्न प्रोत्साहन गर्नुपर्नेमा विशेष जोड दिएक थिए । उनिहरूले वातावरणमैत्री पूर्वाधारको डिजाइन र कार्यान्वयन नगरी सहरमा विकास निर्माण अगाडी बढाउन नहुने माग पनि गरे ।
कार्यक्रममा बी ग्रुपका अध्यक्ष टेक बहादुर पुन, परियोजना संयोजक इन्द्रजित सुनार, व्यवसाय विकास अधिकृत समद सिद्विकी, बाँके कवाडी व्यवसायी सङ्घका अध्यक्ष मोहम्मद उमर हलवाई, वाल्मीकि समाज नेपालका अध्यक्ष जगदीश वाल्मीकि, होटल व्यवसायी सङ्घका सह कोषाध्यक्ष केशव योगी, युवा अगुवाहरू साहिल अन्सारी, ईरशाद राई, जमालुद्दिन अन्सारी लगायतले वातावरण संरक्षणका लागि रुख रोप्ने र संरक्षण गर्ने कार्यलाई तीव्रता दिनुपर्नेमा जोड दिए ।