सहरको फोहोर, किसानको खेतवारीमा
Saturday, June 17th, 2023, 7:43 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
दाङ १ असार
बर्खे खेती गर्ने समय नजिकिदै गर्दा घोराही उपमहानगरपालिका–१६ बयरबटुवा निवासी किसान हरिराम चौधरीलाई खेत र नालामा अड्किएको फोहोर संकलन गर्नुपर्ने बाध्यता छ । घोराही बजारबाट कुलोमा फालिएको फोहोर बग्दै खेतबारीमा प्लाष्टिक तथा सिसाजन्य फोहोरले भरिने भएकाले खेती गर्नुभन्दा पहिले बर्षेनी किसानलाई खेतमा भएको फोहोर व्यवस्थापन गर्नुपर्ने चुनौती थपिने गरेको छ ।
धान रोप्नुभन्दा पहिले प्रत्येक बर्ष खेतमा आएको प्लाष्टिकलगायतका फोहोर फाल्नुपर्ने बाध्यता भएको किसान चौधरी बताउँछन् । किसान चौधरी भन्छन,‘गाउँमा सिचाईका लागि कुलो बनाएका हौ, तर सहरका मानिसले कुलोमा फोहोर फालिदिदा खेतभरी प्लाष्टिक तथा सिसाजन्य फोहोरले भरिने गरेको छ ।’ फोहोरले गर्दा किसानलार्य खेती गर्नुभन्दा पहिले प्रत्येक बर्ष खेतवारी सफा गर्नुपर्ने चुनौती थपिने गरेको छ । खोला र कुलाका दुषित पानीले सिचाई गर्दा अन्नबालीहरुमा नयाँ रोगहरु देखा पर्ने र बर्षेनी उत्पादन समेत घट्ने समस्या रहेको चौधरी बताउँछन् ।
खेतमा पुगेको फोहोरले खेती गर्नसँगै उत्पादनमा समेत असर गर्ने गरेको घोराही उपमहानगरपालिका–६ निवासी किसान लक्ष्मी खत्री बताउँछिन । सहरमा फोहोर जथाभावी फाल्दा किसानको खेतवारीसँगै सिचाईका लागि प्रयोग हुने खोला र कुलोहरु समेत प्रदुषित हुने गरेको उनी बताउँछिन । ‘पहिले–पहिले खोला तथा नालामा पानी गाईवस्तुलाई खुवाउन र सिचाई गर्न हुन्थ्यो तर अहिले फोहोरले गर्दा खोला,नालामा गाईबस्तुलाई पानी खुवाउनै डर लाग्ने भएका छन्’,उनले भनिन्,‘बजारमा जथाभावी रुपमा फोहोर फाल्दा सिचाईका लागि प्रयोग हुने खोला तथा नाला प्रदुषित भएको छ ।’ खोलाका दुषित पानी पिउँदा गाइबस्तु विरामी पर्ने र अन्नबालीमा समेत बर्षेनी रोग देखिने गरेको उनी बताउँछिन ।
यो समस्या किसान हरिराम चौधरी र लक्ष्मी खत्रीको मात्रै होइन जिल्लाका धेरै किसानले भोग्दै आएको समस्या हो । सहरी क्षेत्रबाट निस्कने फोहोर व्यवस्थीत रुपमा व्यवस्थापन नहुँदा गाउँमा प्रदुषण मात्रै बनाउने गरेको छैन कृषि व्यवसायमा समेत असर पर्ने गरेको छ । जिल्लामा घोराही मात्रै होइन यो समस्या तुलसीपुर, लमही, भालुवाङलगायतका क्षेत्रमा समेत देखिने गरेको छ । सहरबाट निस्कने फोहोरहरु खोला र कुला हुँदै गाउँसम्म पुग्ने र त्यसले कृषि कार्यमा असर पुर्याउने गरेको स्थानीय बताउँछन् । गाउँका सिंचाई गर्ने कुलोदेखि खेतबारीसम्म फोहोरै फोहोरले भरिएपछि कतिपय ठाउँमा किसानहरुले सफा गर्ने गरेका छन् ।
घोराही उप–महानगरले सहरी क्षेत्रमा हरेकदिन फोहोर संकलन गर्ने गरेपनि कतिपयले फोहोरहरु कटुवा तथा सेवार खोलामा फाल्ने गर्दा त्यसको असर गाउँमा किसानले गर्ने गरेका छन् । सहरवासीले खोलामा फाल्ने फोहोरका कारण गाउँसम्म प्रदुषण फैलिनका साथै किसानहरुले समेत समस्या भोग्नुपर्ने समस्या भएको घोराही उप–महानगरपालिका सरसफाई शाखा प्रमुख लक्ष्मण अधिकारी बताउँछन् ।
सहरको फोहोर गाउँमा गएर खेती गर्नै समस्या हुने अवस्था आएपछि घोराही उप–महानगरपालिकाले फोहोर नफाल्न पटक–पटक सार्वजनिक सुचनासँगै फालेको थाहा पाए कारवाही गर्नेसम्म चेतावनी दिएपनि कम गर्न नसकिएको शाखा प्रमुख अधिकारीको भनाई रहेको छ । ‘फोहोर व्यवस्थापनका लागि उपमहानगरपालिकाले गाडीको प्रयोग गर्दै आएको छ । घरबाट निस्कने फोहोरलाई गाडीमा फाल्न र जथाभावी रुपमा खोला तथा कुलोहरुमा फोहोर नफाल्न आग्रह गर्दै आएको छौ’,उनले भने,‘तर मानिसहरुले घरमा राखेर गाडी हाल्नेभन्दा कुलामा फाल्ने गरेको पाइएको छ ।’
सहरवासीलाई सजक गराउनका साथै खोला तथा कुलाहरुमा फोहोर फाल्ने जरिवाना समेत गर्ने निर्णय गरेको तुलसीपुर उपमहानगरपालिका सरसफाई व्यवस्थापनका शाखाका माधव पौडेल बताउँछन् । जथाभावी फोहोर नफाल्न जानकारीसँगै फाले कारवाही गर्नेसम्मको चेतावनी दिदा पनि कुलाहरुमा फोहोर फाल्ने गरेको किसानले गुनासो गर्दै आएको उनी बताउँछन् । शाखा प्रमुख पौडलले भने,‘जथाभावी फोहोर फाल्दा फोहोर गाउँसम्म पुगिरहेको छ । जसले सहरलाई मात्रै होइन गाउँबस्तीमा पनि प्रदुषण गर्ने काम गरिरहेको छ ।’ उनका अनुसार पालिकाहरुले जथाभावी फोहोर फाल्नेलाई दुई सयदेखि ५० हजारसम्म जरिवानाको व्यवस्था गरेको छ ।
जिल्लाका प्रमुख घोराही, तुलसीपुर र लमही क्षेत्रमा हरेक दिन फोहोर उठ्ने गरेको छ । घोराही उप–महानगरपालिकामा २०, तुलसीपुर उप–महानगरपालिकामा २५ र लमही नगरपालिकामा ६ टन गरी जिल्लामा दैनिक करिव ५० देखि ५५ टनसम्म फोहोर संकलन हुने गरेको छ । सहरी क्षेत्रमा फोहोर संकलनका लागि घोराही उप–महानगरपालिकामा १० वटा, तुलसीपुर उप–महानगरपालिकामा ६ वटा र लमही नगरपालिकामा ४ वटा गाडीहरु प्रयोग हुने गरेका छन् । त्यसका साथै भालुवाङ,गढवा, नारायणपुर, हापुरेलगायतका सहरी क्षेत्रमा पनि पालिकाहरुले फोहोर संकलनका लागि गाडीहरुको प्रयोग गनृै गरेका छन् । सहरीबाट उठेको फोहोरहरु पालिकाहरुले ल्याण्ड फिल्ड साइडमा व्यस्थापन गर्दै आएका छन् ।
तर ग्रामीण क्षेत्रको फोहोर व्यवस्थापनमा भने पालिकाहरुले चासो देखाएका छैनन् । सहरी क्षेत्रमा हरेकदिन फोहोर उठाइरहँदा पालिकाहरुले ग्रामीण क्षेत्रको फोहोर भने नउठने गरेको स्थानीयवासी बताउँछन् । अधिकांस फोहोर सहरी क्षेत्रमै उठ्ने भएकाले मुख्य रुपमा फोहोर संकलनका लागि सहरमै केन्द्रीत हुने गरेको लमही नगरपालिका वन, वातावरण तथा विपत व्यवस्थापन शाखाकी प्रमुख गायत्री थापा बताउँछिन । उनले लमही बजारसँगै जोडिएका केही क्षेत्रमा फोहोर उठने गरेपछि अधिकांस ग्रामीण क्षेत्रको फोहोर उठाउन नसकिएको बताए ।