बझाङमा जीप दुर्घटनाःसुदूरपश्चिमका कानुनमन्त्री सिंहको निधन
Tuesday, June 20th, 2023, 6:45 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ५ असार
बझाङमा दुर्घटनामा परेका सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको उपचारको क्रममा निधन भएको छ ।
बाँकेस्थित मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी सन्तोषसिंह राठौरले जानकारी दिए । उनका अनुसार मंगलबार साँझ ५ः३३ मा मन्त्री सिंहको निधन भएको हो ।
‘५ः३३ मा बाँकेस्थित मेडिकल कलेज कोहलपुरमा चिकित्सकले मन्त्रीजीलाई मृत घोषणा गरेका हुन्,’– एसपी राठौरले भने ।
यसअघि उनकी पत्नी अमृता र भाउजू जयादेवीको मृत्यु भएको थियो । उनीहरूको देउराको निजी मेडिकलमा उपचारको क्रममा मृत्यु भएको थियो ।
मंगलबार दिउँसो २ बजेतिर डडेल्धुराबाट चैनपुर जानेक्रममा मन्त्री सिंहसहित पाँच जना चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको कार दुर्घटनामा परेको हो ।
बझाङको केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो ।
दुर्घटनामा घाइते मन्त्री सिंहका पिएसओ सहायक प्रहरी हवल्दार दीपक भण्डारी र गाडी चालक धर्मराज जोशीको पनि कोहलपुरमा उपचार भइरहेको छ ।
मन्त्रीसहित उनीहरूलाई हेलिकप्टरमार्फत कोहलपुर ल्याइएको थियो ।