‘माटोका लागि रासायनिक भन्दा घरेलु मल उत्तम’
Wednesday, July 5th, 2023, 10:35 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १९ असार
बाँकेका किसानहरुले रोपाइँ गरिरहँदा मलको भने अभाव देखिएको छ । आफुहरुले आवश्यकता अनुसारको मलको मात्रा नपाएको डुडुवा गाउँपालिका–६ भङ्घोट्नाका किसान जयपाल मौर्य बताउँछन् । आफुले प्रर्याप्त मल नपाएको गुनासो गर्दै उनले भने,–‘हामीलाई न मल पुग्छ न विउ पुग्छ । सरकारमा बसेका नेताहरु हामीले यति करोड र उती करोड कृषिमा अनुदान दियौं भनेर भन्छन् । मल पुर्तिको वैकल्पिक उपाउ भनेको अनुदानका कार्यक्रमहरु ठप्प गर्नुपर्छ । अनि मात्रै कृषिका नाममा अनुत्पादक क्षेत्रमा हुने खर्चले मल आयात गर्न सकिन्छ ।’
आफुहरु जस्ता किसानलाई विउ, मल र जल पुयाएपछि मात्रै सरकारले कृषिका अन्यकुरामा पैसा खर्चिनुपर्ने उनको भनाई छ ।
‘स्थानीय सरकारले किसानहरुलाई गोबर मलको प्रयोग बढाउने कुरामा सचेतनाका कार्यक्रम ल्याउन सके मल अभाव अलि कम हुने थियो । मल अभाव समस्याको दिगो समाधानको लागि राज्यले आफ्नै मलको कारखाना स्थापना गर्नुको विकल्प देख्दिन ।’–उनले भने ।
यसैगरि नरैनापुर गाउँपालिका–६ गंगापुरका किसान सोहनलाल यादवले समेत तिन तहकै सरकार मिलेर मलको वैकल्पिक उपाए खोज्न जरुरी रहेको बताए । किसानले पछिल्लो समय बस्तुभाउ पाल्न छोडेको भन्दै उनले किसानलाई पनि बस्तुभाउ पाल्न र त्यसबाट उत्पादन हुने मलको प्रयोगमा जोड दिने कुरामा स्थानिय तहले सचेतनाका कार्यक्रम गर्न जरुरी रहेको बताए ।
‘हामीलाई पोटास मात्रै अनिवार्य हो । किनभने त्यसले किरा मार्छ । तर, जहाँसम्म युरिया डिएपी मलको कुरा छ । त्यसको सबैभन्दा उत्तम विकल्प भनेकै बस्तुभाउबाट उत्पादित मल नै हो । त्यसकारण हामीले गोबर मलको उत्पादनमै जोड दिन, बस्तुभाउ पाल्नेलाई प्रोत्साहन गर्न र पशुपालनलाई मल उत्पादनसँग जोड्न जरुरी छ ।’
रासायनिक मल अभावको विकल्पका लागि जैबिक मल, भर्बी कम्पोस्ट, गड्यौला मल, भकारो सुधार बाट गोवरमल, हरियो मल (ढैचा) लगायत कम्पोस्ट मल तिर जोड दिन आवश्यक रहेको नरैनापुर कृषि शाखा प्रमुख सदन भण्डारी बताउँछन् ।
यसका लागि स्थानीय किसानलाई गाउँपालिकाले सहजरीकरण गर्न आवश्यक रहेको उनको भनाई थियो ।
मल अभावको विकल्पका रुपमा आगामी आर्थिक बर्षमा पशु चौपाया पालनमा किसानलाई प्रोत्साहन गरी कम्पोष्ट मल उत्पादनमा जोड दिने र यसको प्रभावकारिताका बारेमा किसानलाई सचेतना दिने कुरामा काम गरिरहेको राप्तिसोनारी गाउँपालिका कृर्षि शाखा प्रमुख चन्द्रा कुमारी शाहीले जानकारी दिईन् । उनले गड्यौला मल, प्राङगारिक मल, कम्पोष्ट मल तथा हरियो मल हामी उत्पादनमा वृद्वि नै मलको गतिलो विकल्प रहेको बताईन् ।
बाँकेमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले कृषि सहकारीमार्फत किसानहरुलाई रासायनिक मल आपूर्ति गर्दै आएका छन् ।
साल्ट ट्रेडिङले डिलर सहकारीको रुपमा नेपालगन्जमा १३, बैजनाथमा ९, डुडुवामा १, जानकीमा ४, खजुरामा ९, कोहलपुर ३ र राप्ती–सोनारी गाउँपालिकाका ६ वटा सहकारीमार्फत किसानलाई रासायनिक मल उपलब्ध गराउँदै आएको छ ।
डिएपी मल रोपाइँको समयमा आवश्यक पर्ने भएकाले किसानले हाल बढी माग गर्ने गरेका छन् । कृषि सामग्री कम्पनीले किसानका लागि जिल्लामा एक सय ७ वटा सहकारीलाई रासायनिक मल वितरण गर्दै आएको छ ।