बैंकहरुलाई ‘वर्क फ्रम होम’ र आलोपालो कर्मचारीको व्यवस्था मिलाउन राष्ट्र बैंकको निर्देशन
Tuesday, August 11th, 2020, 11:24 am
amit
काठमाडौं, २५ साउन । नेपालमा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि राष्ट्र बैंकले स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै कर्मचारीलाई आलोपालो कार्यालय बोलाउन तथा घरबाटै काम गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
राष्ट्र बैंकले आइतबार क, ख र ग वर्गका सबै बैंकहरु तथा वित्तीय संस्थाहरुलाई एक सूचना जारी गर्दै वित्तीय सेवा प्रवाहको निरन्तरतका लागि बिजनेस कन्ट्रीन्युटी प्लान बनाउन निर्देशन दिएको हो ।
राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार देशका विभिन्न स्थानमा लागु भएको बन्दाबन्दी, निषेधाज्ञा, सावारीसाधानको आवगनमा जोररबिजोर प्रणालीलगायतको विशेष परिस्थिति मध्यनजर गर्दै बैंकहरु तथा वित्तीय संस्थाहरुले कोरोना संक्रमणको जोखिम व्यवस्थापन गर्न आवश्यकताअनुसार समूह विभाजन गर्री ‘वर्क फ्रम होम’ र आलोपालो कर्मचारीलाई उपस्थित हुने व्यवस्था गर्नुपर्नेछ ।
त्यस्तै राष्ट्र बैंकले प्रदेशस्थति शाखा कार्यालयहरुमा प्रदेश सरकार, स्थानीय तह र स्थानीय प्रशासनमार्फत हुने निर्णय र सूचनालाई समेत आधार मानेर प्रदेश कार्यालयको समन्वयमा वैकल्पिक रुपमा सञ्चालन गर्न सकिने शाखाहरु सोहीअनुसार आलोपालो सञ्चालन गर्नसमेत निर्देशन दिएको छ ।
कोरोना भाइरस संक्रमणको बढ्दो प्रभावलाई मध्यनजर गर्दै विद्युतीय माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्नसमेत राष्ट्र बैंकले निर्देशन दिएको छ भने जारी गरिएको सूचनाका आधारमा विद्युतीय माध्यमबाट सेवा सुरु नगरिएका शाखाको विवरण भने दैनिक रुपमा राष्ट्र बैंकमा रिपोटिङ गर्नुपर्नेछ ।