पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु, मृतकको संख्या ९५ पुग्यो (विवरणसहित)
Thursday, August 13th, 2020, 6:43 pm
amit
काठमाडौ, २९ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ ।
धनुषाको मिथिला नगरपालिका ७ ढल्केवरका ८५ वर्षीया वृद्धाको साउन २८ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । मृत्युपछि उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत अछामको रामारोशन गाउँपालिका—५ का १८ वर्षीय युवकको साउन २८ गते कोरोना संक्रमणका कारण ज्यान गएको छ । उनी मुटुरोगबाट ग्रसित थिए भने उनको मृत्युपश्चात गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।
मोरङको विराटनगर महानगरपालिका—३ का ५७ वर्षीय पुरुषको साउन २८ गते कोसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनी मधुमेह र उच्च रक्तचापबाट ग्रसित थिए । मृत्युपछि गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आएको हो ।
यसैगरी महोत्तरीको महोत्तरी मटिहानी नगरपालिका ६ का ४५ वर्षिय पुरुषको साउन २५ गते मृत्यु भएको । क्षयरोग र मधुमेहका ग्रसित उनको राज जानकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
९२औ, ९३औ, ९४औ, र ९५औ कोरोना संक्रमितको मृत्युसंगै नेपालमा मृत्यु हुनेको संख्या ९५ पुगेको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ ।