कोरोना संक्रमितको संख्या बढ्न थालेपछि धादिङवेसीमा १ साता निषेधाज्ञा
Thursday, August 13th, 2020, 7:12 pm
amit
धादिङ, २९ साउन । कोरोना भाइरसको संक्रमण समुदायस्तरमा देखिन थालेपछि जिल्ला प्रशासन कार्यलय धादिङले १ साताका लागि जिल्ला सदरमुकाम धादिङवेसीमा निषेधाज्ञा जारी गरेको छ ।
यसैगरी प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा जिल्लाका सरोकारवालासहित बसेको संकट व्यवस्थापन समितिको बैठकले बुधबार राति १२ बजेदेखि भदौ ३ गते मध्यरातसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यलय धादिङले दिएको जानकारी अनुसार जिल्ला सदरमुकाम भित्रिने मुख्य नाका कालुपाण्डे राजमार्गको दायाँबायाँ क्षेत्रहरू तथा नीलकण्ठ नगरपालिकाको २, ३, ४, ७, ८, १२ र १४ नम्बर वडामा निषेधाज्ञा जारी गरिएको छ ।
त्यस्तै स्थानीय प्रशासन ऐन २०२८ को दफा ६९३० र संक्रामक रोग ऐन २०२० बमोजिम निषेधाज्ञा लागू गरिएको कार्यालयले जानकारी दिएको छ ।
धादिङवेशी आसपासका स्थानीय होटल व्यवसायी, सवारी चालक, जिल्ला प्रहरी कार्यालय धादिङमा कार्यरत प्रहरी अधिकृतमा समेत कोरोना संक्रमण देखिएको हुनाले समुदाय स्तरमा संक्रमण फैलिन नदिनका लागि एक साताका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताएका छन् ।