नेपालगन्ज विमानस्थलको टर्मिनल भवनका लागि ६२ करोड बढि बजेट विनियोजन
Thursday, September 14th, 2023, 4:49 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २८ भदौ
नागरिक उड्डयन प्राधिकरणले बहुवर्षीय आयोजनाअन्तर्गत नेपालगन्ज विमानस्थलको टर्मिनल भवन र टावर निर्माणका लागि ६२ करोड ६५ लाख ४८ हजार रूपैयाँ विनियोजन गरेको छ ।
आर्थिक वर्ष २०७९÷०८० सालदेखि सुरू भएको यो विमानस्थलको टर्मिनल भवन निर्माणको कुल लागत अनुमान करिब तिन अर्ब रूपैयाँ रहेको छ । त्यस्तै, नेपालगन्ज विमानस्थलमा नयाँ कार्यालय तथा कन्ट्रोल टावर निर्माणका लागि ४४ लाख २४ हजार रूपैयाँ विनियोजन गरेको छ ।
त्यसैगरी दाङ विमानस्थलमा टावर निर्माण तथा अन्य सम्बन्धित कार्यका लागि २८ लाख बजेट छुट्याएको छ । सुर्खेत विमानस्थलमा फायर वाचटावर र अन्य निर्माण कार्यका लागि एक करोड रूपैयाँ छुट्याएको छ । डोल्पाको मसिनेचउर विमानस्थलमा टावर र टर्मिनल भवन निर्माणका लागि ५० लाख बजेट विनियोजन गरेको छ । यो विमानस्थलका लागि कुल लागत ९७ लाख ५४ हजार रूपैयाँ अनुमान गरिएको छ ।
नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्षमा देशभरका विभिन्न ९ वटा विमानस्थलमा टर्मिनल भवन निर्माणका लागि बजेट विनियोजन गरेको हो । प्राधिकरणले नौ विमानस्थलका टर्मिनल भवन तथा टावर र अन्य विमानस्थल सुदृढीकरणका लागि कुल एक अर्ब ५७ करोड ९६ लाख ६९ हजार रूपैयाँ बजेट छुट्याएको हो ।
देशभरका विमानस्थल सुविधा–सम्पन्न बनाउन विशेषगरी पूर्वाधार निर्माणलाई मुख्य प्राथमिकतामा राखेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले यस वर्षको आफ्नो कुल ३६ अर्ब ६६ करोड रूपैयाँ बजेटमध्ये पुँजीगत खर्चतर्फ १९ अर्ब रूपैयाँ विनियोजन गरेको छ ।