युनियन बाँकेको तीज महोत्सव सम्पन्न
Thursday, September 14th, 2023, 8:50 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २८ भदौं
नेपाल प्रेस युनियन बाँके शाखाले तीज महोत्सव तथा महिला पत्रकार लेखनवृत्ति प्रतियोगिता गरेको छ । तीज पर्वलाई मौलिकतासँगै जोड्दै शाखाले पहिलो पटक महिला पत्रकार लेखनवृत्ति प्रतियोगिता गरेको हो । प्रेस युनियन बाँके शाखाका उपाध्यक्ष नीशा शाहको सभापतित्व तथा प्रतिनिधिसभा सदस्य आशा विकको प्रमुख आथित्यतामा भएको उक्त कार्यक्रममा प्रेस युनियन मासिक पत्रिकाको समेत विमोचन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि विक, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसीसहितका अथितिहरुले पत्रिकाको संयुक्तरुपमा विमोचन गरेका थिए ।
युनियनको आफ्नो पहिलो अंक तीज विशेष बनाएर प्रकाशन गरेको छ । प्रत्येक महिना अवदेखि युनियनले आफ्नै मासिक पत्रिका प्रकाशन गर्ने सम्पादन मण्डलका सदस्य समेत रहेका युनियन बाँकेका उपाध्यक्ष कमल खत्रीले जानकारी दिए । तीज महोत्सव कार्यक्रमलाई सम्वोधन गर्दै प्रतिनिधिसभा सदस्य विकले शाखाले तीज पर्वलाई मौलिकतासँगै महिला पत्रकार लेखनवृत्ति प्रतियोगिता गरेर महिला पत्रकारहरुलाई पत्रकारिता तर्फ प्रेरित गरेको बताईन् ।

………….
लेखनसीपको विकास गर्दै महिला पत्रकारलाई व्यवसायिकतासँग जोड्न सकियो भने पत्रकारितामा महिला पत्रकारहरुको उपस्थिति बलियो बनाउन सकिने उनको भनाइ थियो ।
प्रतिनिधिसभा सदस्य विकले महिला पत्रकारको क्षमता अभिवृद्धिका लागि आफ्नो तर्फबाट गर्न सकिने पहलमा कुनै कमी नहुने बताइन ।
उनले भनिन, ‘प्रेस युनियनले प्रारम्भ गरेको अभियान सकारात्मक छ । प्रतिनिधिसभा सदस्यको हैसियतले मैले गर्नुपर्ने सहयोगमा कुनै कमी हुँदैन । यसलाई निरन्तरता दिने काम होस । संस्थागत सहयोगका लागि म सधै प्रेस युनियनको साथमा छु ।’
यसैगरी लुम्विनी प्रदेशसभा सदस्य सञ्जु थारुले प्रेस युनियन बाँके शाखाले महिला पत्रकार लेखनवृत्ति प्रतियोगिता गरेर नयाँ सन्देश प्रवाह गरेको भन्दै खुसी व्यक्त गरिन् । उनले महिला पत्रकारलाई दक्षता अभिवृद्धि गर्ने र उनीहरुलाई पत्रकारितामा टिकाई राख्नको लागि आफ्नो तर्फबाट गर्न सकिने पहलमा कुनै कमी बताईन ।
यसैगरी प्रदेश सभा सदस्य माया पुनले प्रेस युनियनले गर्ने संस्थागत सहकार्यका लागि आफु सधैव तयार रहेको बताईन ।
अर्की प्रदेश सभा सदस्य सुशिला नेपालीले प्रेस युनियनले सबैको आवाजलाई समेट्न सकोस भन्ने शुभकामना व्यक्त गरिन । राप्ती सोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषा थारुले प्रेस युनियनसँग स्थानीय सरकारले सहकार्य गरेर अघि बढ्न चाहेको भन्दै त्यसका लागि आफु सकारात्मक रहेको बताईन ।
कार्यक्रममा नेपाली काँग्रेस लुम्विनी प्रदेश सभाका सदस्य कृष्णा सापकोटा, नेपाल प्रेस युनियन लुम्विनी प्रदेशका महासचिव नवीन गिरी, पत्रकार महासंघ लुम्विनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, नेपाल पत्रकार महासंघ बाँके शाखा उपाध्यक्ष करुणा शाह, स्वास्थ्यकर्मी संघका केन्द्रीय सदस्य अञ्जु न्यौपाने लगायतले आ आफ्नो धारणा राखेका थिए । नेपाल प्रेस युनियन बाँकेका शाखाका अध्यक्ष प्रियास्मृति ढकालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन शाखाका सहसचिव माया अधिकारीले गरेकी थिईन ।
लेखनवृत्तिमा रजनी प्रथम
लेखनवृत्ति प्रतियोगितामा रजनी योगी प्रथम, सरला सुवेदी द्धितिय, सावित्री विश्वकर्मा तृतिय र शिवानी विकले सान्त्वना पुरस्कार प्राप्त गरेकी छिन् । प्रथम हुने योगिले ५ हजारसहित प्रमाणपत्र, द्धितिय हुने सुवेदीले ३ हजारसहित प्रमाणपत्र, तृतिय हुने विश्वकर्माले २ हजारसहित प्रमाणपत्र प्राप्त गरिन । यसैगरी सान्त्वना हुने विकले १ हजारसहित प्रमाणपत्र प्राप्त गरेको गरेको छनौट समितिका संयोजक उमा थापा मगरले जानकारी दिईन । महिलाहरुको लेखन क्षमतालाई अभिवृद्धि गर्ने उद्देश्यले प्रेस युनियन बाँकेले खुल्ला रुपमा तीजसँग सम्बन्धी रहेर फिचर स्टोरी लेखन प्रतियोगिता आयोजना गरेको थियो ।