सुरु भयो गौघाट–परसपुर सडक खण्डको निर्माण कार्य
Friday, October 6th, 2023, 7:24 pm
Kalpristha
सडकको स्तर बिग्रिएका कारण बाँके र बर्दियाका जनताले समस्या भोगिरहेका छन् । सडकमा भएका खाल्डा खुल्डीका कारण यस सडक खण्डमा दुर्घटनाका घटना बढ्दा स्थानीयलाई थप समस्या भएको थियो । तर शुक्रबारदेखि ठेकेदार कम्पनीले काम सुरु गरेको छ ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १९ असोज
जनताले सास्ती भोग्दैं आएको गौघाट–परसपुर सडक खण्डको प्रारम्भिक निर्माण कार्य शुक्रबार देखि सुरु भएको छ ।
स्थानीय र संघीय निर्वाचनको बेला प्रमुख राजनिति दलहरुको प्रमुख चुनावी एजेन्डा बनेपनि गौघाट–परसपुर सडक खण्डको निर्माण कार्य सुरु हुने सकेको थिएन् । सडकको स्तर बिग्रिएका कारण बाँके र बर्दियाका जनताले समस्या भोगिरहेका छन् । सडकमा भएका खाल्डा खुल्डीका कारण यस सडक खण्डमा दुर्घटनाका घटना बढ्दा स्थानीयलाई थप समस्या भएको थियो । तर शुक्रबारदेखि ठेकेदार कम्पनीले काम सुरु गरेको छ ।

…………..
ठेक्का सम्झौता भएको १६ महिना सम्म पनि निर्माण कार्य सुरु नभएपछि स्थानीय जनताले आक्रोस पोख्दैं आएका थिए । जसका कारण यस क्षेत्रबाट निर्वाचित भएका नेताहरुलाई दबाब बढदै गएको थियो ।
निर्माण कार्यको ठेक्का पाएको कन्काई–गणपति जेभिले सम्झौता अनुसार २०७९ वैशाख २५ देखि निर्माण कार्य सुरु गरी २०८१ भदौं २५ गते सम्म योजना सम्पन्न गर्ने अधिकार पाएको छ ।
१० किलोमिटर रहेको गौघाट–परसपुर सडक खण्ड निर्माणको लागि कन्काई–गणपति जेभिले १४ करोड रुपैयाँमा ठेक्का पाएको छ । सम्झौता अनुसार समयमै निर्माण कार्य सम्पन्न गर्ने ठेकेदार कम्पनीले जनाएको छ ।
कन्काई–गणपति जेभिका प्रमुख तुलसीराम भण्डारीले शुक्रबारदेखि काम सुरु भएको जानकारी दिए । उनले भने, ‘सुरुआतमा खाल्डाखुल्डी सम्माउने काम सुरु भएको छ । चाडबाडको समयमा जनतालाई दुःख नहोस भनेर हामीले पहिलो चरणको काम सुरु गरेका छौं । माटो पटान गर्न अहिले कठिन भएकोले त्यो दशैंपछि सुरु हुन्छ । जनतालाई सहज रुपमा आवात जावात गर्न मिल्ने गरी अहिले काम गछौं । दशैं पछि माटो पटानको काम हुन्छ । हामी सम्झौता अनुसार समयमै निर्माण कार्य सम्पन्न गछौं ।’ बजेट अभाव कारण समयमै काम सुरु हुन नसकेको भण्डारीले बताए ।

…………
सडक डिभिजन कार्यालय नेपालगन्जले ठेकेदार कम्पनी सम्पर्कमा नआएको हुँनाले काम सुरु हुन नसकेको बताउँदै आएको थियो । समयमै निर्माण सुरु गर्नको लागि बाँके क्षेत्र नम्बर ३ प्रदेश सांसद बादशाह कुर्मी, खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक, उपाध्यक्ष मन्जु मल्ल, २ नम्बर वडा अध्यक्ष धनराम ओली लगायतका स्थानीयले सडक डिभिजन कार्यालयलमा गएर दबाब समेत दिएका थिए ।
पहिले पिच रहेको उक्त सडक खण्ड भत्कदैं गएपछि स्तर उन्नती गर्ने भन्दैं २०७४ सालमा भत्काउने काम भएको थियो । तर त्यसपछि बजेट अभाव कारण उक्त सडक खण्डको निर्माण कार्य रोकियो ।
खजुरा गाउँपालिका वडा नम्बर २ अध्यक्ष धनराम ओलीले आफुहरु निर्वाचित भएर आएपछि गौघाट–परसपुर सडक खण्डलाई प्राथमिकतामा राखेर काम गरेको बताए । उनले भने,‘ठेक्का भएर पनि समयमै काम सुरु हुन सकेन । यसले जनतालाई थप दुःख भोग्नु परेको छ । जनताको समस्या बुझेर हामीले सम्बन्धी निकायलाई पटक–पटक दबाब दिने काम गरेका छौं । आजबाट काम सुरु भएको छ । यो खुसी कुरा हो । अब समयमै यो निर्माण कार्य सम्पन्न होस भन्ने हामी चाहन्छांै ।’