अहेब कोइरालाले ९० लाख भ्रष्टाचार गरेको आरोप
Saturday, October 7th, 2023, 5:28 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २० असोज
चापाकोट स्याङ्जाका सिनियर अहेब बिन्दु कोइरालालाई ९० लाख भन्दा बढी रकम भ्रष्टाचार गरेर आर्जन गरेको आरोप लागेको छ ।
अहेब कोइरालाले आफनो जागिर अवधिमा गैरकानुनी रुपमा ९० लाख ३९ हजार ५ सय २० रुपैयाँ बराबरको रकम भ्रष्टाचार गरेको भन्दैं अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
सिनियर अहेब कोइराला २०५४ कात्तिक ५ गते देखि सरकारी सेवामा प्रवेश गरेका थिए । २०७८ मंसिर १ गतेसम्म सरकारी सेवामा रहँदा उनले आर्जन गरेको सम्पत्तिको विषयमा आयोगले अनुसन्धान गरेको थियो ।
उक्त अवधिमा कोइरालाको दुई करोड ९७ लाख ८१ हजार आठ सय दुई रुपैयाँ बराबरको आय तीन करोड ८८ लाख २१ हजार चार सय २२ रुपैयाँ बराबरको खर्च तथा लगानी गरेको अनुसन्धानको क्रममा फेला परेको आयोगले जनाएको छ ।
कूल आयभन्दा खर्च तथा लगानी बढी रहेको तथा त्यसको स्रोतसमेत नखुलेको पाइएपछि आयोगले मिहिन रूपमा छानबिन गर्दा अनियमितता देखिन गएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदीय दुरुपयोग गरी गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती गीता कोइरालाको नाममा बैंकमा जम्मा गरेको पाइएको छ ।
स्रोत पुष्टि हुन नसकेको सम्पत्ति जफथ गरी बिगो बमोजिम कारवाहीको माग दावी गर्दै मुद्दा दायर गरिएको प्रवक्ता दाहालले जानकारी दिए । आयोगले अहेब कोइराला र श्रीमती गीता विरुद्ध बिगो बमोजिम कारबाहीको माग दावी गर्दै मुद्दा दायर गरेको छ ।