बालबिबाहले कोरी समुदायमा निम्त्याएको स्वास्थ्य समस्या
Saturday, October 7th, 2023, 5:54 pm
Kalpristha
कुसुम कोरी
नेपालगन्ज, २० असोज
सुमनदेवी कोरी अहिले विभिन्न स्वास्थ्य समस्याबाट गुज्रीरहेकी छिन् । नेपालगन्ज उप-महानगरपालिका वडा नं.११ कोरियनपुर निवासी १६ वर्षिया सुमनको गर्भमै बच्चा बितेपछी विक्षिप्त मात्र बनिनन्, शारीरिक रुपमा असशक्त पनि भईन् ।
१४ वर्षकै उमेरमा बिबाह गरेर १५ वर्षमै गर्भवती बनेकी सुमनले बच्चा गुमाइन । अस्पतालमा जाँच गराइएको रिपोर्ट अनुसार, शरिरमा रगतको मात्रा कम भएर बच्चाको पूणर् बिकास हुन नसकेको हो । शारिरिक रुपले आमा अनि बच्चा पनि जती छिटो विकास हुनुपर्ने हो त्यो नभएपछि गर्भमा भएको बच्चाको मृत्यु भएको चिकीत्सकले बताएकोे सुमनले पनि स्वीकारिन् । बच्चा खेर गएको सम्झदा अहिले पनि उनको आङ जीरीङ हुन्छ । उनी एक वर्ष देखि अनेकखाले स्वास्थ्य समस्याहरुको घेरामा छिन् । उनलाई अहिले पनि पाठेघरको अनेकन समस्या छ । बालबिबाह गरेकै कारण यी स्वास्थ्य समस्या देखिएका हुन कि भन्ने उनलाई लाग्छ ।
यस्तै नेपालगन्ज वडा २२ पुरैनी बस्ने १४ वर्षिया अन्जली कोरीको स्थिति पनि उस्तै छ । अन्जलीको १३ वर्षको उमेरमा नै बिबाह भएको थियो । १४ वर्षको उमेरमा उनि गर्भवती भइन् । अनेकन पीडा सहेर बच्चा त जन्माइन तर बच्चा नै पूणर् स्वस्थ छैनन् । बिगतको पछ्तावा गर्दै अन्जलीे भन्छिन्- मैले भोगेको जस्तो पीडा कसैलाई पनि भोग्न परोस् । उमेर नपुगेकै कारण मैले सहज बच्चा जन्माउन सकिन- उनले सुनाईन । मेरो बच्चा ठूलो अपे्रशनले जन्मिएको हो ।
अन्जलीकाअनुसार बच्चाको अङगहरु पूणर् रुपले बिकसित पनि छैन । जन्मदेखि नै दायाँ किड्नी सानो छ । आर्थिक स्थिति कमजोर हुनाले थप अौषधी उपचार गराउने पैसा पनि छैन । पाठेघरमा इन्फेक्सन देखिएको चिकीत्सकले बताएका छन् । दैनिक जीवनी पीडादायी हुँदै गएको उनले सुनाइन् । छिटै उपचार नगराउने हो भने पाठेघर फाल्नुपर्छ भनेर डाक्टरले भनेको समेत अञ्जलीले दाबी गरिन् ।
बाल बिबाहकै कारण सुमन र अन्जली जस्तै धेरै कीशोरीले यस्तै प्रकारका स्वास्थ्य समस्या झेल्दै आएका छन् । कोरी समुदायमा बालबिबाह गर्ने चलन छ । बाँके जिल्लामा कोरीको संख्या लगभग तीनहजार नौ सय जति छ । कोरी पिछडीएकोे समुदायहरुमध्ये एक हो । कोरी जाति हिन्दु दलित जातिमा पर्दछ । नेपालगन्जउपमहानगरपालिका वडा नं. १६ जैसपुर बस्ने स्वयम् सेविका मुन्नी देवी कोरी भन्छिन् -सानै उमेरमै बिबाह गरिदिने चलनले स्वास्थ्य लगायतका समस्या सिर्जना गरिरहेको छ । अन्य समुदायमा पनि बाल बिबाह छ तर कोरी समुदायमा अहिले पनि जारी छ । कानूनले बालबिबाह वर्जित गरेपनि बालबिबाहले समाजमा जरा गाडेर बसेको छ । बालबिबाहकैकारण घरेलु हिंसा बढेको छ भने स्वास्थ्य समस्या सिर्जना भइरहेको छ तर त्यसको नियन्त्रणतर्फ भने खासै चासो देखाइएको छैन ।
सानैमा गरिने बिबाहले जटील स्वास्थ्य समस्या निम्तयाइरहेको चिकीत्सकले पनि बताएका छन् । शरिर पूणर् रुपमा बिकास नहँदै गरिने बिबाह र सन्तानोत्पतिले स्वास्थ्यमा जोखिम देखिने चिकीत्सकको भनाई छ । सानै उमेरमा बिहेपछि उनीहरुको यौनिक बिकास भइसकेको हुँदैन, जसकारण बच्चा जान्माउने बेलामा आमा र बच्चा दुबैको मृत्यु पनि हुन सक्ने सम्भावना रहने डा सहबुदी बाग्वानको भनाई छ । बालबिबाहले महिलाहरुको स्वास्थ्य जटील बनाईदिएको डा बागवानको तर्क छ ।
कोरी समुदायमा सानैमा बिहे गर्ने चलन रहेको छ । कोरी समुदायका अधिकांस किशोरीलाई बालविवाह के हो, यसले जीवनमा कस्तो स्वास्थ्य समस्या निम्त्याउँछ भन्ने जानकारी पनि छैन । बालबिबाहकाकारण अपाङ्ग बच्चा जन्मिने सम्भावना उच्च हुने डा बागवानको भनाई छ । डा बागवानकाअनुसार किशोरी आमाबाट जन्मिएका बच्चारु अस्वस्थ हुनका साथै कमजोर र सुस्त पनि हुन्छन्, । पहिलो वर्ष मै मृत्यु हुन सक्ने सम्भावना पनि अधिक हुन्छ । कतिपय बच्चाहरु कुपोषणका सिकार पनि हुन्छन् । यस्तै रेडियोलोजिष्ट डा अनुप चौधरीको अनुभवमा कम उमेरमै विवाह भएका किशोरीहरु छिटै गर्भवती हुन्छन् तर बच्चा हुर्काउन सक्ने क्षमताको विकास भएको हुँदैन । डा चौधरीका अनुसार कतिपय बच्चाहरुको तौल कम हुने, गर्भको अवधी नपुग्दै बच्चा जन्मिने, गर्भवतीको रक्त चाप बढ्ने र गर्भमा नै मृत्यु हुने लगायतका स्वास्थ्य जटिलताहरु देखिन्छन् ।
सामान्यतया १८ वर्ष भन्दा कम उमेरमा गरिने बिबाहलाई बाल बिबाह भनिन्छ । नेपालको कानुन अनुसार बालबालिका दुबैको लागि २० वर्ष पुगिसकेपछि बिबाह गर्न उपयुक्त उमेर भनि तोकिएको छ । मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार २० वर्ष नपुगी कसैले बिबाह गरे वा गराएमा बिबाह स्वतः बदर हुने छ । साथै कसुर गर्ने जो कोही व्यक्तिलाई तीन वर्ष सम्म कैद र तीस हजार सम्म जरिवाना हुने कानूनी व्यवस्था गरिएको छ । तर पनि समाजमा लुकीछुपी बालबिबाहलाई कायमै राखिएको पाइन्छ । सामाजिक न्यायका क्षेत्रमा क्रियाशिल संस्था फातिमा फाउण्डेशनकी अध्यक्ष मैमुना सिद्यीकी बालबिबाह विरुद्ध सचेतनासँगै कानून कार्यान्वयनमा तदारुकता देखाउनु पर्ने बताउँछिन् । बाल बिबाहले पार्न सक्ने प्रभावबारे सचेतना फैलाउन स्थानीय सरकार पनि अग्रसर रहनु पर्ने उनको सुझाव छ ।