नेपालगन्जमा आजदेखि रामलिला सुरु
Sunday, October 15th, 2023, 5:00 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २७ असोज
डेढ सय बर्षदेखि नेपालगन्जमा सञ्चालन हुँदै आएको रामलिला यसपाली आजदेखि शुरु हुने भएको छ । प्रत्येक वर्ष दसैँका अवसरमा नेपालगन्ज-१३ रामलिला मैदानमा रामलिला मञ्चन हुँदै आएको छ । रामलिलाको १ सय ५६औँ संस्करणका लागि आवश्यक तयारी पूरा भइसकेको रामलिला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कानोडियाले जानकारी दिए ।
१ सय ५३ र १ सय ५४औँ संस्करण कोरोना महामारीका कारण परिवर्तन गरिएको थियो । असत्यमाथि सत्यको विजयको प्रतिकका रूपमा मनाइने दसैँको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको दिनसम्म राति ७ बजेदेखि १२ बजेसम्म रामलिला मञ्चन गरिन्छ ।
भारत वृन्दावन धामका जगदिशप्रसाद शर्मा नेतृत्वको संगितिक कलाकार टोली नेपालगन्ज पुगिसकेको सञ्चालक समितिले जनाएको छ । अध्यक्ष कानोडियाका अनुसार भोलि दिउँसो २ बजेदेखि रामलिला मैदानबाट शोभा यात्रा निकालिनेछ भने साँझ ८ वजे नेपालगन्ज उप-महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले रामलिला महोत्सवको समुद्घाटन गर्नेछन् ।
रामलिलामा धनुष यज्ञ, रावणवध, भरतमिलाप र रामको शुभ राज्याभिषेक आदि मञ्चन हुने गर्दछ ।
नेपालगन्जको ऐतिहासिक र धार्मिक परम्पराका रुपमा स्थापित रामलिलालाई जोगाई राख्न सहयोग सङ्कलन गरेर पनि रामलिला महोत्सव गर्दै आएको प्रचार मन्त्री आदित्य गुप्ताले जानकारी दिए ।