जनसेवामा भेषभुषा प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
Tuesday, October 31st, 2023, 2:18 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, ३ कार्तिक
खजुराको जनसेवा माध्यमिक विद्यालयमा शुक्रबार सामुदायिक भेषभुषा प्रदर्शनी तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । जनसेवा माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेश यादवको अध्यक्षतामा भएको कार्यक्रममा खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक तुफान प्रमुख अतिथीका उपस्थित भएका थिए ।
कार्यक्रममा खजुरा गाउँपालिका सामाजिक विकास संयोजक कृष्ण कुमारी पोखरेल विक, शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर मल्ल, शिक्षक अभिभावक संघका अध्यक्ष लोक बहादुर खत्री लगायतको उपस्थित रहेको थियो । कार्यक्रमको अवसरमा आर्थिक वर्ष २०७९–८० मा निर्माण सम्पन्न भएको विद्यालयको ४ कोठो भवनको गाउँपालिका अध्यक्ष विकले उद्घाटन गरे । अध्यक्ष विकले पिपल चौतारा निर्माणको शिलन्यास पनि गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि विकले जनसेवाले गाउँपालिकाको सांस्कृतिक महत्व झल्कने गरी भेषभुषा प्रदर्शनी गरेर उत्कृष्ट काम गरेको बताए । प्रदर्शनीमा थारु, मगर, नेवार, मुस्लिम, ब्राह्मण, क्षेत्री जातिको भेषभुषा प्रदर्शनी गरिएको थियो । कार्यक्रममा जनसेवाका प्रअ टंकनाथ दाहालले स्वागत मन्त्व्य राखेका थिए भने कार्यक्रमको संचालन विद्यालयका लेखाप्रमुख सोम बहादुर सुनारले गरेका थिए ।