मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा
Tuesday, October 31st, 2023, 4:34 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १४ कार्तिक
आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोटमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपाल मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ मा लगातार दुई जित निकाल्दै नेपालले समूहको अन्तिम खेलअघि नै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
नेपाल सेमिफाइनल गरेसँगै समूहको अर्को टिम ओमानले पनि अन्तिम चारमा स्थान पक्का ग¥यो । नेपाल र ओमान दुवैले मलेसिया र सिंगापुरलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन् । मलेसिया र सिंगापुर भने अन्तिम खेलअघि नै बाहिरिए ।
अब नेपाल र ओमानबीच बिहीबार हुने खेलबाट समूह विजेताको टुंगो लाग्नेछ । मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले मलेसियाले दिएको १६६ रनको लक्ष्य १८ ओभरमा ४ विकेटको क्षतिमा पूरा ग¥यो ।
यो नेपालले टी–२० अन्तर्राष्ट्रियमा पार गरेको अहिलेसम्मकै ठूलो स्कोर हो । यसअघि नेपालले गत साता युएईविरुद्ध १६५ रनको लक्ष्य पूरा गरेको थियो । नेपालको जितमा कुशल मल्लले अर्धशतक प्रहार गरे । उनले ६५ रनको योगदान गर्ने क्रममा ३४ बलमा २ चौका र ७ छक्का प्रहार गरे ।
त्यसअघि ओपनर कुशल भुर्तेल ४३ रन बनाएर आउट भए । ५.३ ओभरमा आउट हुनुअघि उनले २५ बलमा ४ चौका र ४ छक्का प्रहार गरे । अर्का ओपनर आसिफ शेख २३ बलमा १ चौका र २ छक्काको मद्दतमा ३२ रन जोडे । कप्तान रोहित पौडेलले २ रन मात्र जोड्न सके ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ९ विकेटको क्षतिमा १६५ रन जोड्यो । उत्कृष्ट सुरुवात गरेको मलेसियाले पावर प्लेमा १ विकेटको क्षतिमा ६० रन जोडेको थियो । त्यसपछि भने नेपालले मलेसियाको रन रोक्ने कोशिस गरेको थियो ।
नेपालका लागि पहिलो विकेट अभिनास बोहराले ५.५ ओभरमा लिए । उनले मलेसियाका ओपनिङ ब्याट्सम्यान जुबाइदी जुल्किफीलाई २४ रनमा कुशल मल्लबाट २४ रनमा क्याच गराए । अर्को ओभर नेपालले मलेसियाका कप्तान अमहद फइजलाई ३ रनमा रनआउट ग¥यो । दुई रन लिने चक्करमा रहेका उनलाई करण केसीको थ्रोइङमा विकेटकिपर आसिफले रनआउट गरे ।
त्यसपछि सन्दीप लामिछानेले विरनदीप सिंहलाई ४ रनमा एलबिडब्लूको धरापमा पारे। कप्तान रोहित पौडेलले शर्भिन मुनियान्डीलाई १३ रनमा क्याच गरे । त्यसअघि पाँच बलमा रोहितले १५ रन खर्चिएका थिए । १४औं ओभरमा गुल्सन झाले ६८ रन बनाएर खेलिरहेका ओपनर सयद अजिजलाई कुशल भुर्तेलबाट क्याच गराए । मलेसियाका लागि सबैभन्दा बढी रन बनाएका उनले ४९ बलमा ८ चौका र २ छक्का प्रहार गरे । गुल्सनले अइनूल अफिजलाई पनि रन आउट गर्न विकेटकिपर आसिफलाई बल दिएका थिए ।
१८औं ओभरमा अभिनासले मोहमद अमिरलाई ८ रनमा बोल्ड गरे । अभिनासले अन्तिम ओभरमा साजरुल इद्रुसलाई कुशल भुर्तेलबाट ७ रनमा क्याच गराउदा फित्रि शामलाई ६ रनमा बोल्ड गरेका थिए । बलिङमा नेपालका अभिनास बोहराले ४ विकेट लिए । अभिनासले ४ ओभरमा २७ रन खर्चिए । सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले १–१ विकेट लिए । सेमिफाइनलमा जित निकाल्दै प्रतियोगिताको फाइनल पुग्ने दुई टिमले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्वकप खेल्नेछन् ।