जब सुकमायाको आगनमा वर्षभरीलाई खाद्यान्न आइपुग्यो
Wednesday, November 1st, 2023, 8:28 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, १५ कात्तिक
बाँकेको खजुरा गाउँपालिकाको वडा नम्बर ४ की सुकुमाया कुमालको परिवारले यस वर्षको दशैंमा समेत पेटभरी खान पाएन । दृष्टिविहीन र सहाराविहिन सुकुमायाको परिवारलाई आर्थिक अभावका कारण दशैंमा एक छाक खान पनि अप्ठेरो परेको पीडाबारे खबरगन्जले भिडियो कुराकानी गरेको थियो ।
उक्त भिडियो सामग्री हाल अमेरिकामा रहेका खजुरा गाउँपालिका डी गाउँका लिलबहादुर थापाले हेरेपछि करिब ८० हजार बढी रकम खाद्य सामग्री र न्यानो कपडा प्रदान गरिदिन भन्दै खबरगन्जलाई रकम पठाइदिए । बुधबार खबरगन्जको टिम लिलबहादुरले पठाएको रकमबाट खाद्यान्न लिएर सुकमायाको घरमा पुग्दा उनको अनुहार उज्यालो भयो ।
उनले आफूलाई करिब एक वर्षलाई पुग्ने खाद्यान्न प्राप्त भएको भन्दै लिलबहादुरलाई आभार व्यक्त गरिन् । दशैं खल्लो भएपनि यसपटकको तिहार भने रमाइलो हुने उनले बताइन् ।
ॅदुईछाक खानै समस्या थियो । यति भएपछि हामीलाई धेरै ठूलो राहत भयो,’ उनले खुसी व्यक्त गर्दै भनिन् । सुकमायाका साथै उनका दाइको पनि शारीरिक अस्वस्थताका कारण परिवार आर्थिक समस्यामा छ । थापाले सुकमाया, उनका बुवा र दाइको परिवारका लागि खाद्यान्न सामग्री सहयोग गरेका हुन् ।
चामल, कुखुरा, दाल, तेल, पीठो, नुन, भुजा, चाउचाउ, बिस्कुट, साबुन, स्याम्पु लगायतका घरायसी सामग्रीका साथै न्यानो ब्ल्यांकेटहरु सुकमायाको परिवारलाई हस्तान्तरण गरिएको हो । जन्मैदेखि दृष्टिविहीन सुकमाया एकल महिलाका रुपमा एक छोरा र वृद्ध बुवाकोसमेत लाललनपालन गरिरहेकी छन् ।
उनका श्रीमान्को दुईवर्षअघि टिबी र जन्डिस रोगले ग्रसित भएर निधन भएको थियो । एक छोरालाई पढाउन पनि हम्मेहम्मे भएको उनले बताइन् । गाउँमा सानोतिनो सहयोग र राहतले परिवार धानिरहेको सुकुमायाको परिवारको पीडामा थापाले गरेको सहयोगले मल्हम लगाउने खबरगन्जका संस्थापक तथा प्रवन्ध निर्देशक खगेन्द्र दाहालले बताए ।
उनले सहाराविहीनहरुलाई राहत पुगोस् भन्ने आफूहरुको चाहनामा साथ दिएकोमा थापालाई धन्यवाद व्यक्त गरे । थापा तिनै व्यक्ति हुन् जसले अमेरिकामा श्रम गर्दै कमाएको रकमबाट नेपालमा सहाराविहीन र विपन्नहरुलाई आर्थिक, खाद्यान्न उपलब्ध गराउनेदेखि लिएर आवाससमेत बनाएर सहयोग गर्दै आएका छन् । उनले हालसम्म एक करोडबढी रकम सहयोग गरिसकेको बताउँछन् । उनले गुल्मी, सुर्खेत, बाँके लगायतका ठाउँमा विभिन्न सामाजिक काममा सहयोग गर्नुका साथै विपन्नहरुको आवास समेत बनाइदिएका छन् ।