रिगल भन्छन,‘म विरुद्ध विशुद्ध राजनीतिक प्रतिसोध साँधियो ’
Thursday, November 2nd, 2023, 6:53 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १६ कात्तिक
सवोच्च अदालतले कैद मिनाहा बदर गरेपछि योगराज ढकाल(रिगल)ले बाँके प्रहरी समक्ष आत्मसमपर्ण गरेका छन् । उनले बिहिबार नेपालगन्जको सेतुविक चोकमा प्रहरीलाई बोलाएर आत्मसमर्पण गरेका थिए ।
आत्मसर्पण गर्नु अघि रिगलले आफनो बारेमा सर्वोच्चले गरेको निर्णय अनौठो भएपनि कानुनको पालनार्थ आत्मसर्पण गरेको बताए ।
उनले भने, ‘म विरुद्ध विशुद्ध राजनीतिक प्रतिसोध साँधियो । मेरो कैद मिनाहाका विरुद्ध धर्नाहरू भए, रिट दायर भयो । अहिलेसम्म नेपालमा म मात्रै कैद माफी पाएर छुटेको एक्लो व्यक्ति होइन र यसअघि छुटेकाहरुको हकमा पनि यस्तै भए के हुन्छ ?’
सरकारले दिएको माफी विरूद्ध सर्वोच्चको फैसला अनौठो लाग्ने भएपनि आफुमा लोकतन्त्रवादी चरित्र भएको हुँदा त्यसको सम्मान गर्ने रिगलले पत्रकारसमक्ष बताएका थिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक नारायण डाँगीले रिगलले प्रहरीसमक्ष आत्मसमर्पण गरेको बताए । उनले भने,‘सर्वोच्चको आदेशपछि हामीले रिगलको खोजी गरेका थियौं । उहाँले सेतु विक चोकमा प्रहरीसँग आत्मसमर्पण गर्नुभयो ।’
रिगललाई अहिले जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ । रिगललाई सरकारको सिफारिसमा गत असोज ३ गते राष्ट्रपतिले आममाफी दिएका थिए ।
०७२ असार २८ गते नेपालगञ्जको धम्बोझी चोक नजिकै चेतन मानन्धर माथि खुँडा प्रहार गरेको रिगललाई आरोप लाग्दै आएको थियो । चेतनलाई छबिलाल बस्नेतले धम्बोझी चोकमा खुडा प्रहार गरेका थिए । उक्त घटनामा रिगलको संलग्नता भएको भन्दैं अदालतले जन्मकैदको सजाय सुनाएको थियो ।
सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरूद्ध चेतनकी श्रीमती भारतीले गत असोज २२ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन् । रिगलले ११ वर्ष ११ महिना ५ दिन कैद सजाय भुक्तान गर्न बाँकी छ ।