धारिलो हतियार प्रहार गर्ने आकाश राना प्रक्राउ
Friday, November 17th, 2023, 3:27 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १ मंसिर
कोहलपुरका मिन बहादुर विकलाई धारिलो हतियार प्रहार गरेर फरार भएका आकाश रानालाई जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले नियन्त्रणमा लिएको छ ।
गत कात्तिक ३० गते बाँके कोहलपुर नगरपालिका वडा नम्बर १२ चप्परगौडी स्थित घर फर्कने क्रममा मिन बहादुरमाथि आक्रमण गरिएको थियो ।
मिन बहादुरलाई बैजनाथ गाउँपालिका निवासी हाल कोहलपुर ११ बस्ने ३० वर्षीय आकाश रानाले धारिलो हतियार प्रहार गरेका थिए । आक्रमण पछि फरार रहेका विकलाई प्रहरीले मंसिर १ गते शुक्रबार जानकी गाउँपालिका–४ स्थित अरहर घारीमा लुकेको अवस्थामा नियन्त्रणमा लिने प्रयास गरेको थियो ।
नियन्त्रणमा लिने क्रममा आकाशले प्रहरीलाई धकलेर भाग्ने प्रयास गरेका थिए । पछि उनलाई ३ राउन्ड फायर गरेर प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक नारायण डाँगीले बताएका छन् । भाग्ने क्रममा आकाशको दाहिने खुट्टाको घुँडामा १ राउन्ड गोली लागेर घाइते भएका थिए । उनको हाल भेरी अस्पताल नेपालगन्ज बाँकेमा उपचार भैरहेको छ । उनको अवस्था खतरामुक्त भएको प्रहरीले जनाएको छ ।
आकाश राना विरुद्ध कात्तिक २८ गते बाँके जिल्ला कोहलपुर–११ स्थित १० वर्षिय नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा जाहेरी समेत दर्ता भएको थियो । आकाश यसअघि पनि अपराधिक घटनामा संलग्न हुँदै आएको प्रहरीले बताएको छ । उनी यसअघि २०७४ असोज २७ गते जिल्ला अदालत बाँकेको आदेशले लागु औषध ब्राउनसुगर मुद्दामा कैज सजाय भई सुनाएको थियो । उनी २०७९ असोज २७ गते कैदमुक्त भएका थिए ।