उद्योग वाणिज्य संघमा असन्तुष्ट समुहले बुधबार पुनः मतगणना गराउने तयारी
Tuesday, December 5th, 2023, 7:25 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १९ मंसिर
नेपालगन्ज उद्योग वाणिज्य संघको असन्तुष्ट समुहले बुधबार विवादित महासचिव पदको पुनः मतगणना गराउने तयारी गरेको छ । गत मंसिर १३ गते नेपालगन्ज उद्योग वाणिज्य संघका उप–महासचिव टेक बहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले मंसिर २० गते पुनः मतगणना गर्ने निर्णय गरेको थियो ।
संघका कोषाध्यक्ष मख्खन बहादुर धामीले बुधबार दिउँसो १२ बजेदेखि मतगणना गर्ने तयारी भएको बताए ।
उनले भने, ‘विवादित बनेको महासचिव पदको मतगणना भोली(बुधबार) गर्ने हामीले तयारी गरेका छौं । त्यसका लागि सम्बन्धित निकायसँग छलफल भैरहेको छ ।’
नेपालगन्ज उद्योग वाणिज्य संघ पछिल्लो समय विवादको घेरामा परेको छ । सदस्यताको विषय देखि लिएर निर्वाचन मतपरिणाम सम्मका कार्यक्रमहरु विवादित बन्दै आएपछि संघको गरिमा समेत असर परेको छ ।
निर्वाचन मतपरिणामलाई लिएर संघ भित्र स्पष्ट रुपमा दुई समुहमा पदाधिकारी र सदस्यहरु विभाजित भएका छन् । अध्यक्ष टंक धामी नेतृत्वको समुह र टेक खड्काले नेतृत्व गरेको समुहहरुले छुटा–छुटै समयमा बैठक राख्ने गरेका छन् ।

……………
यी दुबै समुहले एक अर्काका निर्णयहरुलाई समेत अवैधानिक भनेर दाबी गरिरहेका बेला बुधबार महासचिव पदको पुनः मतगणना गर्ने तयारी गरिएको छ । जसले संघलाई थप विवादको दिसा तर्फ लग्ने सम्भावना बढेको छ ।