बन्द प्रशिक्षण सुरु गदै बाँकेको महिला क्रिकेट टिम
Wednesday, December 6th, 2023, 7:25 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २० मंसिर
प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि बाँकेले बिहिबार देखि बन्द प्रशिक्षण सुरु गर्दैछ । बाँके जिल्ला क्रिकेट संघका अनुसार बन्द प्रशिक्षण कोहलपुर र नेपालगन्ज गरी दुई स्थानमा संचालन हुनेछ । खेलाडीको सुविधाको लागि कोहलपुर र नेपालगन्जमा बन्द प्रशिक्षण राखिएको संघले जनाएको छ ।
प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट हुनु अघि लुम्बिनी प्रदेश स्तरको छनोट प्रतियोगिता हुँदैछ । त्यसको प्रदर्शनको आधारमा लुम्बिनी प्रदेशको टिम छनोट हुनेछ । जसले प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेटमा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्नेछ ।
लुम्बिनी प्रदेश स्तरीय छनोटमा यस पटक बर्दिया र पाल्पाको महिला टोलीले पहिलो पटक भाग लिदैछन् । प्रदेश छनोटमा बाँके, दाङ, रुपन्देही, नवलपरासी, बर्दिया र पाल्पाले प्रतिस्पर्धा गर्नेछन् ।
लुम्बिनी प्रदेश स्तरीय छनोट प्रतियोगितामा राम्रो नतिजा निकाल्ने योजना अनुसार बन्द प्रशिक्षण गर्न लागेको बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष सरोवर प्रसाईले बताए । उनले भने,‘विगतमा भन्दा यस पटक लुम्बिनी प्रदेश स्तरीय छनोट प्रतियोगिता प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । यसपटक नयाँ दुई जिल्ला थपिएका छन् । प्रतियोगितामा हाम्रो खेलाडीले राम्रो प्रर्दशन गर्न सकुन भनेर बन्द प्रशिक्षण सुरु गर्न लागिएको हो । यसले टिमलाई बलियो बनाउन सहयोग गर्नेछ ।’
छनोट प्रतियोगितामा सहभागि भएका महिला खेलाडी । तस्विरः क्यान बाँके
प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी पुष १ देखि १४ गते सम्म काठमाडौंमा हुँदैछ । त्यसअघि दाङमा मंसिर २५ गतेदेखि लुम्बिनी प्रदेश स्तरको छनोट प्रतियोगिता हुँदैछ । उक्त प्रतियोगितामा बाँकेले रन्जु श्रेष्ठको कप्तानीमा प्रतिस्पर्धा गर्नेछ । बाँकेको टोलीमा उप–कप्तान शोभा शाही, मनिषा राना, सुस्मिता बजगाई, एलिना बर्मा, चमेली चौधरी, गायत्री कश्यप, जिग्याशा थापा, प्रियंका गुरुङ, स्वष्तिका बजगाई, जयन्ती चन्द, सिमाना मल्ल, लक्ष्मी चन्द र बिन्दु उचई ठकुरी रहेकी छिन् । वैकल्पिक खेलाडीको सुचिमा कृष्णा चन्द, निशा चौधरी, गमला जिएम, बिपना शाही रहेका छन् । बाँकेको टिम प्रशिक्षकमा इरफान हुसेन सैयद रहेका छन् ।