प्रशासनले प्रभावकारी पहल नगरेको आरोप
Wednesday, December 6th, 2023, 8:05 pm
Kalpristha
नेपालगन्ज उद्योग वाणिज्य संघ विवाद
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २० मंसिर
बुधबार हुने भनिएको नेपालगन्ज उद्योग वाणिज्य संघको महासचिव पदको पुनः मतगणना हुन सकेन् । बाँके जिल्ला प्रशासन कार्यालयले निर्वाचनको लागि संघलाई आधिकारिक कर्मचारी उपलब्ध नगराएपछि पुनः मतगणना हुन नसकेको हो । नेपालगन्ज उद्योग वाणिज्य संघको विधानमा पुनः मतगणना गराउनको लागि प्रशासन कार्यालयको स्वीकृत अनिवार्य छ । प्रशासनले तोकेको अधिकारीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्नु पर्ने हुन्छ । नेपालगन्ज उद्योग वाणिज्य संघको नियमनकारी निकाय जिल्ला प्रशासन कार्यालय भएको हुनाले प्रशासनको स्वीकृत अनिवार्य मानिन्छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघका उप–महासचिव, कोषाध्यक्ष लगायतको समुहले विवादित महासचिव पदको पुनः मतगणना गराउनु पर्ने माग राख्दै आन्दोलन गरिरहेको छ । संघको विवादित विषयलाई समाधान गर्न नियमनकारी निकाय जिल्ला प्रशासन कार्यालयले समेत बेवास्ता गरेको आरोप आन्दोलनरत व्यवसायीहरुले लगाएका छन् । प्रशासनले संस्था दर्ता ऐन २०३४ अनुसार जिल्ला प्रशासन कार्यालयले कुनै पनि प्रभावकारी काम नगरेको उनीहरुको गुनासो छ । नियमनकारी निकाय जिल्ला प्रशासन कार्यालय बाँकेले सात दिन भित्र विवाद समाधानको लागि प्रयास नगरे चरणबद्धरुपमा आन्दोलन कार्यक्रमहरु गर्न बाध्य हुने संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै व्यवसायीहरुले जानकारी गराएका छन् ।
कोषाध्यक्ष मख्खन बहादुर धामीले जिल्ला प्रशासन कार्यालयले पुनः मतगणना गर्नमा सहयोग नगरे अदालतमा न्यायका लागि अपिल गर्ने बताएका छन् । उनले भने,‘हामीले यो विवादलाई समाधान गर्न सबैलाई अनुरोध गरेका छौं । संघको इतिहासमै यो लज्जास्पद काम भएको छ । महासचिव पदको गणनामा विवाद आएपछि त्यसको पुनः मतगणना गर्नुपर्छ भन्ने हाम्रो माग हो । त्यो हाम्रो अधिकारको कुरा हो । संघका सदस्यहरुको अधिकारको कुरा हो । यसमा हामीले न्याय पाएका छैनौं ।’
संघले व्यवसायीको मतलाई अपमान गरेको कोषाध्यक्ष धामीले आरोप लगाएका छन् । विगतको निर्वाचनमा त्यस्ता घटना हुँदा पुनः मतगणना गरिएको भन्दैं पुनः मतगणना गराउनु पर्ने धामीले माग गरेका छन् ।

……..
गत भदौमा भएको नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनको क्रममा सम्पुर्ण मतपत्र गणना नगरी नतिजा घोषणा गरिएको भन्दैं महासचिव पदका उम्मेदवार टंक शर्माले अदालतमा मुद्धा हालेका थिए । तर बाँके जिल्ला अदालतले उक्त विवादित विषय संघ र नियमनकारी निकाय जिल्ला प्रशासनले समाधान गर्नु पर्ने व्यवस्था भएको भन्दैं सोही निकाय मार्फत विवाद टुङ्गो लगाउन आदेश दिएको थियो । सोही आदेश अनुसार उप–महासचिव र कोषाध्यक्ष सहितको समुहले गत मंसिर १३ गते बैठक बसेर मंसिर २० गते पुनः मतगणना गर्ने निर्णय गरेको थियो ।
नेपालगन्ज उद्योग वाणिज्य संघ पछिल्लो समय विवादको घेरामा परेको छ । सदस्यताको विषय देखि लिएर निर्वाचन मतपरिणाम सम्मका कार्यक्रमहरु विवादित बन्दै आएका छन् । निर्वाचन जित्ने उद्देश्यले गैरकानुन ढंगबाट सदस्यता वितरण गरेको भन्दैं सुरुआत देखी नै अब्दुल वाहिद मन्सुरी चुन्ना अध्यक्ष रहेको कार्यसमितिलाई आरोप लाग्दै आएको छ । निर्वाचनका क्रममा पनि निर्वाचन अधिकृत टिकाजंग सिंहको लापरबाहीका कारण संघको निर्वाचन प्रक्रिया थप विवादमा तानिएको थियो । जसका कारण संघमा थप विवाद बढदै गएको छ ।