नेपालगन्ज छैठौं मेयर कप साईकल प्रतियोगिता सम्पन्न, प्रकाश प्रथम
Friday, December 8th, 2023, 2:47 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २२ मंसिर
नेपालगन्ज सहरलाई चिनाउने इभेन्ट्सका रुपमा परिचित नेपालगन्ज साईक्लोथन छैठौं मेयर कप साईकल दौड प्रतियोगिता–२०२३ सम्पन्न भएको छ । शुक्रबार सम्पन्न प्रतियोगिताको मुख्य विधामा राष्ट्रिय खेलाडीको वर्चश्व देखिएको छ । प्रतियोगिताको एमटिबी पुरुष तर्फ बुटवलका प्रकाश थापा प्रथम, काभ्रेका अच्युत खरेल दोस्रो र उदयपुरका निमा शेर्पा तेस्रो भएका छन् । उक्त प्रतिस्पर्धामा १३ जनाको सहभागिता रहेको थियो । एमटिबी महिला तर्फ सहभागि भएका ६ जना मध्ये बैजनाथकी रुपा थारुले पहिलो स्थान, नेपालगन्जकी एसि श्रेष्ठ दोस्रो र बैजनाथकी रिमा थारु तेस्रो भईन ।
साधारण साइकल तर्फ ८० जना सहभागीलाई पछि पार्दै राप्तीसोनारीका जुगलाल थारु पहिलो, राप्तीसोनारीका रमेशकुमार थारु दोस्रो र डुडुवाका बिनोद कुमार यादव तेस्रो भए । साधारण साइकल महिलामा बर्दियाकी इन्दिरा थारु प्रथम, राप्तीसोनारीकी मिना कुमारी थारु दोश्रो र राप्तीसोनारीकै समिता थारु तेस्रो भईन । एमटिबी स्पेसल तर्फको बिशेष दौडमा नेपालगन्जका लक्ष्मीनारायण शाह प्रथम, राजिव बिक्रम शाह दोश्रो र डा.बद्री चापागाईं तेस्रो भए ।
प्रतियोगितामा एमटिबी पुरुष तर्फको पहिलो स्थान प्राप्त गर्नेले २० हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार र एमटिबी महिला तर्फमा प्रथम हुनेले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार नगद मेडल तथा ट्रफी पुरस्कार पाएका छन् ।
यसैगरी साधारण साईकल पुरुष तर्फ क्रमश ८ हजार, ६ हजार र ४ हजार तथा साधारण साईकल महिला तर्फ क्रमश ७ हजार,५ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
शुक्रबार भएको प्रतियोगितामा उत्साहजनक रुपमा सहभागिता रहेको आयोजक नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष सतिश निरौलाले बताए ।
नेपालगन्ज उप–महानगरपालिकाको सहकार्य भएको प्रतियोगितामा, थोपा प्रयोगशाला, रक्षक सेक्युरिटी, कालपृष्ठ दैनिक, कृष्णसार एफएम, दैनिक नेपालगन्ज र नेपालगन्ज ग्यालरीले सहकार्य गरेका थिए । विजयी खेलाडीलाई नेपालगन्ज उप–महानगरपालिकाका मेयर प्रशान्त बिष्ट, उपमेयर कमरुद्धिन राई लगायतले पुरस्कृत गरेका थिए ।
सयौं जनाको सहभागितामा नेपालगन्जको रामलिला मैदानबाट बिहानै प्रतियोगिता सुरु भएको थियो । प्रतियोगिताको रुट रामलिला मैदान, बुलबुलिया, उदयपुर, डम्पिङ साईट, तेलियनपुर, पुरैना, फुल्टेक्रा, हडियाबाबा हुँदै पुनः रामलिला मैदानमा आएर समापन हुन तय गरिएको थियो ।

……………..
यस पटक प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगितालाई आर्कषक बनाउन आयोजकले विभिन्न ५ विधाहरु समावेश गरेको थियो । जस अन्तर्गत एमटिबी पुरुष(३३ किलोमिटर), एमटिबी महिला(२० किलोमिटर), एमटिबी स्पेसल(१० किलोमिटर), साधारण साईकल पुरुष(२० किलोमिटर) र साधारण साईकल महिला(१५किलोमिटर) विधा रहेका थिए ।

………….

…………..

……………

…………

…………