गाउँपालिकाबाटै जानकीमा सामाजिक सुरक्षा भत्ता वितरण सुरु
Friday, December 8th, 2023, 3:10 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २२ मंसिर
बाँकेको जानकी गाउँपालिकाले जेष्ठ तथा अशक्त नागरिकहरुलाई गाउँपालिकाबाटै सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ । यसअघि सामाजिक सुरक्षा भत्ता लिनका लागी जेष्ठ तथा अशक्त नागरिकहरुलाई नेपालगन्ज बजारमा रहेको मुक्तीनाथ र सांग्रिला विकास बैंकमा जानुपर्ने बाध्यता थियो । गाउँपालिकाबाटै सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेपछि स्थानियलाई सहज भएको छ ।
गाउँपालिकाबाट नेपालगन्ज सामाजिक सुरक्षा भत्ता लिन जानुपर्ने बाध्यताका कारण जेष्ठ नागरिकहरुले विभिन्न किसिमका अप्ठयारा भोग्दै आएका थिए । गाउँपालिकाबाटै सामाजिक सुरक्षा भत्ता वितरण शुरु भएपछि विहानैदेखि भोक प्यासै घन्टौसम्म लाईनमा उभिनुपर्ने बाध्यताको अन्त्य भएको छ । पहिले नेपालगन्ज जानुपर्ने बाध्यता रहेको जेष्ठ नागरिकहरु बताउँछन । नेपालगन्ज जाँदा आउँदाको समस्या र भाँडाको खर्चको अन्त्य भएको भन्दै गाउँपालिकाबाटै सामाजिक सुरक्षा भत्ता पाएपछी खुशी भएका छन । अहिले गाउँपालिकाले कार्यालयबाट भत्ता वितरण सेवा दिएपछि आफुहरुलाई सहज भएको स्थानीयको भनाई छ । गाउँपालिकाले वृद्दहरुको समस्यालाई हेरी भत्ता घरैसम्म पु¥याईदिने व्यवस्था गरिदिए झनै राम्रो हुने उनिहरुको भनाई छ ।

………….
जेष्ठ नागरिक तथा अपाङ्गहरुको समस्यालाई मध्यनजर गरि सामाजिक सुरक्षा भत्ता वितरण प्रकृया गाउँपालिकाबाटै व्यवस्था मिलाएको प्रमुख प्रशासकिय अधिकृत दिल वहादुर पौडेलले बताए । एनआईसि एसिया बैंक र कुमारी बैंकबाट सामाजिक सुरक्षा भत्ताको १ देखि ६ नम्वर वडाको लागी वितरण गर्नेगरी जिम्मेवारी दिईएको प्रमुख प्रशासकिय अधिकृत पौडेलले जानकारी गराए ।
यसभन्दा पहिला सामाजिक सुरक्षा भत्ता लिनको लागी जेष्ठ नागरिकहरुलाई नेपालगन्ज धाउनुपर्ने वाध्यता थियो जसले गर्दा जेष्ठ नागरिकलाई समस्या भएकोले स्थानिय स्तरमा नै रहेको बैंकलाई परिचालन गरि सहज होस भनेर गाउँपालिकाबाटै व्यवस्था मिलाएको पौडेलले बताए ।