सिन्धुपाल्चोकमा भदौ १ गतेदेखि एक साता लकडाउन
Sunday, August 16th, 2020, 11:40 am
amit
सिन्धुपाल्चोक, ३२ साउन । छिमेकी जिल्लामा कोरोना सङ्क्रमण बढ्दै गरेको हुनाले सिन्धुपाल्चोकमा पनि सङ्क्रमण बढ्न सक्ने जोखिमालाई मध्यनजर गर्दै भदौ १ गतेदेखि लकडाउन गर्ने निर्णय भएको छ ।
शनिबार बसेको जिल्ला कोभिड –१९ सङ्कट व्यवस्थापन समितिको बैठकले एक सातासम्मका लागि जिल्लामा बन्दाबन्दी गर्ने निर्णय गरेको हो । कोरोना नियन्त्रणका लागि तत्काल थप सतर्कता अपनाउनाका साथै सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गराइने निर्णय पनि भएको छ ।
यसैगरी जिल्लाका केही स्थानीय तहमा कोरोना सङ्क्रमित भेटिएकाले सङ्क्रमण फैलिन नदिन र नियन्त्रणलाई प्रभावकारी बनाउनका लागि जिल्लाभर लकडाउन गर्ने समितिले निर्णय गरेको हो ।
सो निर्णयसँगै भदौ १ देखि कुनै पनि व्यक्ति अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन नपाउने, सार्वजनिक सवारी साधन बन्द हुने र सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अत्यावश्यक सेवाका कर्मचारी मात्र हिँडडुल गर्न पाउनेछन् ।
त्यस्तै होटल तथा रेष्टुरेण्ट, विद्यालय, सभा, गोष्ठी, तालिम, सेमिनार, प्रदर्शन, शैलुन, खेलकूद गतिविधि सञ्चालन गर्न पाइने छैन भने बैंक र गैरसरकारी कार्यालय आवश्यक सेवा प्रदान गर्न बिहान ११ देखि अपराह्न २ बजेसम्म सञ्चालन गर्न पाइने छ ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार लकडाउनका समयमा सबै नागरिकलाई सामाजिक दूरी कायम गर्दै घरभित्रै बसिदिन अनुरोध गरिएको छ र अत्यावश्यक परेका अवस्थामा जिल्ला प्रशासन कार्यालयले सवारी पास उपलब्ध गराएपछि मात्रै सवारी चलाउन पाइने छ ।