रुसले विश्वकै पहिलोे कोभिड खोप ‘स्पुतनिक भी’ को उत्पादन सुरु गर्यो
Sunday, August 16th, 2020, 12:30 pm
amit
एजेन्सी ३२ साउन । रुसले विश्वको पहिलो कोरोना भाइरसको खोप उत्पादन सुरु गरेको रुसी स्वास्थ्य मन्त्रालयले शनिवार बताएको छ ।
सो खोपको नाम ‘स्पुतनिक भी’ राखिएको छ भने खोपको फर्मुलाको आधिकारिक नाम ‘गाम–कोभिड–भाक’ हो। यसलाई मस्कोमा रहेको गामालेया नेसनल रिसर्च सेन्टरले विकसित गरेको हो ।
उक्त खोपमा दुईवटा तत्व छन् जसलाई तीन हप्ताको अन्तरमा लगाएपछि कोभिड–१९ विरुद्ध इम्युन रेस्पोन्स उत्पन्न हुन्छ ।
यसैगरी सो खोप उत्पादनमा लगानी गर्ने सोभरेन वेल्थ फन्डका निर्देशक किरिल दिमित्रेभले २० वटा देशबाट खोपको एक अर्ब डोजको माग आएको बताएका छन् ।
रुसको स्वास्थ्य नियामक संस्थाले जुन र जुलाई महिनामा दोस्रो चरणको परीक्षण पनि खोप दर्ता गरेको हो । आरम्भिक उत्पादनमा तेस्रो चरणको परीक्षण आवश्यक नरहेको निर्णय लिइएको थियो ।
तर सन् २०२१ को जनवरी महिनाअघि स्पुतनिक भी सामान्य वितरणका लागि पठाइने छैन किनभने त्यसको चारदेखि पाँच महिनामा यसको प्रभावकारिताका विषयमा थप निगरानी गरिनेछ ।
त्यस्तै पश्चिमका केही सरकार र स्वास्थ्यकर्मीहरूले रुसले खोपको घोषणा हतारमा ल्याएकोे र सम्भवतः खतरनाक रहेको भन्दै आलोचना गरेका थिए । खोप तत्कालै आम नागरिकमा उपयोगका लागि पठाइनेछ भन्ने जस्तो लागेर उनीहरूले आलोचना गरेका हुन सक्छन् ।
तर यो खोप कोभिडविरुद्धको लडाइँमा अग्रपंक्तिमा रहेका कामदारहरूका लागि मात्र उपलब्ध गराइनेछ भने उनीहरूलाई पनि स्वेच्छाले मात्र सहभागी गराइनेछ, र कुनै किसिमको जबर्जस्ती गरिने छैन ।
राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि रुसका स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले स्वास्थ्कर्मी र शिक्षकहरूलाई शुरूमा खोप लगाइने बताएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार परीक्षणका आँकडाहरू छिट्टै प्रकाशित गरिने र यससम्बन्धी चिन्ता त्यसले हटाउने आशा गरिएको छ ।