यूवाले चाँसो नदिएपछि संकटमा माटाको भाँडा बनाउने पेशा
Tuesday, February 20th, 2024, 8:00 am
Kalpristha
श्याम बिहारी मगन्ता
नेपालगन्ज,७ फागुन
डुडुवा गाउँपालिका- २ बेतहनीका सुन्दर कुम्हारले माटाको भाडा बनाउने पुख्र्यौली पेशा अपनाउनै सकेनन । पुर्खाहरुले माटाका भाडा बनाएको हेरेर बनाउन सिकेपनि उनले पेशाका रुपमा भने अपनाएनन । ५७ वर्षिय कुम्हारले माटो सहजै नपाउने, मिहनेत धेरै लाग्ने र सोअनुसारको आम्दानी पनि नहुने देखेपछि पुस्तौनी कामलाई अँँगाल्न नसकेका हुन । उनी अहिले ३ कठ्ठा जग्गामा खेतीपाती गरिरहेका छन । कहीले काहीं फुर्सदमा मजदुरी पनि गर्छन । ३ छोरा र छोरी पालिरहेका छन ।
दुई छोरा पनि कमाउने भइसकेका छन । उनीहरु पनि पुस्तौनी पेशामा निर्भर छैनन । उनीहरु दुवै जना भारततर्फ कमाउन जान्छन । उनीहरु मात्र हैन कुम्हार समुदायका यूवाहरु अहिले पुख्र्यौली पेशा गर्न इच्छुक हुँदैनन । सदियौँदेखि माटोको भाडा बनाएर जीवन निर्वाह गर्दै आएका बाँकेका कुम्हार समुदायको पेशा पछिल्लो समय संकटमा छ । लोपोन्मुख जातिका रुपमा रहेका कुम्हारहरु नेपालगञ्ज, डुडुवा लगायतका सीमीत स्थानमा मात्रै छन ।
कुम्हारहरुले गागरो, भुर्की, दियो, प्याला, कलश लगायतका माटाका भाँडा बनाउँदै आएका छन् । चाडपर्वमा माटाका नयाँ भाँडाको प्रयोग गरिने भए पनि प्रविधिसँगै विकास भएका प्लाष्टिक लगायतका भाँडाको आयात तथा माटाको भाडाको बजारीकरणमा समस्या हुँदा कुम्हाल पेशा थप संकटमा पर्दै गएको हो ।
परम्परागत रुपमा माटोका भाँडा बनाउँदै आएका कुम्हार समुदायलाई पछिल्लो समय भाँडा बनाउन माटोको अभावसँगै विक्री गर्नका लागि बजारको व्यवस्था नभएपछि समस्या भएको हो । डुडुवा- २ का बदलु कुम्हार पेशामा मात्रै निर्भर नरहेर खेतीपातीमा पनि सक्रिय रहेका छन् । ‘माटाका भाडाले मात्रै वर्ष भरी खान बस्न पुग्दैन ।’ – उनले बाध्यात्मक अवस्था प्रकट गरे । माटाका भाडाकुँडा बनाउने विधिबारे जानकारी दिदै उनले भने – शुद्ध माटाका भाँडा बनाउन पहिला मलिलो माटो खोजेर ल्याउनुपर्छ । यो माटो सबै ठाँउमा पाइदैन ।
पोखरी, तलाउबाट कालो र चिप्लो माटो ल्याउनु पर्छ । माटोबाट कंकड निकाल्नको लागि जालीबाट चालिन्छ । त्यस पछि बालुवा मिसाएर डिब्बा, खाल्डोमा राखेर २ देखि ४ दिन सम्म भिजाइन्छ । पानी सुखी सकेपछि निकालेर आवश्यक्ताका आधारमा चक्रमा राखेर निर्माण गरिन्छ । सुखाईसकेपछि आगोमा पोलेर बनाइन्छ । माटो, भुस समेत किन्नु पर्ने अअवस्था रहेको पनि उनले बताए ।
नेपालगन्ज उप-महानगरपालिका १३ का हजारी कुम्हारले पेशाबाट जीवन धान्न निकै समस्या भए पनि आफुले पुख्र्यौली पेशालाई निरन्तरता दिदैँ माटाका भाँडाकुँडाहरु बनाउने गरेका छन । अहिले यूवा पुस्तामा धेरैले पेशा छाडिसके पनि आफुले आफ्नो पुर्खाको संस्कृतिको रुपमा सुरक्षित राख्न खोजेको बताए । संस्कृति, परम्परा र पहिचान जोगाउनकै लागि भए पनि यसको संरक्षणका लागि जुट्नुपर्ने उनको सुझाव छ । दशै, तिहारका बेला विशेषतः नेपालगन्जको सदरलाइन, त्रिवेणी मोड, त्रिभुवन चोक र आफ्नै घरमा समेत कुम्हार समुदायले दियोलगायत माटोका भाँडा विक्री गर्ने गरिरहेका छन् । मट्का चिया, मट्का दहीका कारण पुनः माटाका भाडाले बजार लिदैछ ।
चाहिए जस्तो माटो प्रशस्त नपाउनु, प्लाष्टिकका सामग्रीको बढ्दो प्रयोग, माटो र दाउरा महँगो हुन थालेपछि पुख्र्यौली पेशा संकटमा परेको उनीहरूको भनाइ छ । माटाका भाँडा व्यवसायीहरूको लागि स्थानीय सरकारले बजार लगायतको व्यवस्थापनमा ध्यान दिनुपर्ने उनीहरुको भनाई छ । डडुवा- २ का अध्यक्ष दुर्गा प्रसाद बर्माले कुम्हारलाई लोपोन्मुख जातिका रुपमा सूचीकृत गरेर सेवा सुविधा दिनु पर्ने आवश्यक्ता औल्याउँछन ।
तराई कुम्हार समाज नेपालका मुख्य संरक्षक एवं सामाजिक अगुवा विष्णुलाल कुम्हाल पुस्तौनी व्यवसायलाई संरक्षण सम्वद्र्धन गर्न माटोको सहज उपलव्धता, विद्युतीय उपकरण र वजारीकरणको व्यवस्था गर्नु पर्ने सुझाउँछन । नेपालगन्ज उप-महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट कुम्हार लगायतका विपन्न जातिको अवस्था सुधार्ने खालका कार्यक्रम ल्याउने सोंच रहेको बताउँछन् । नगर प्रमुख विष्टका अनुसार नेपालगन्जका कुम्हारहरुको स्वास्थ्य विमा लागु गरिनेछ । देशकै अल्पसंख्यकको रुपमा रहेको कुम्हार समुदायको सुरक्षाका लागि उनीहरूको पेशाको सुरक्षा तथा व्यवस्थापन हुनु जरुरी देखिन्छ ।