मेयर कप फुटबलमा नेपालगन्ज सेन्ट जेभियर्स च्याम्पियन
Tuesday, February 20th, 2024, 6:52 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, माघ २४ गते
नेपालगन्ज सेन्ट जेभियर्सको छात्र टिमले नेपालगन्जमा भएको मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । यसैगरी छात्रा तर्फ नेपालगन्ज मोडेल एकेडेमी प्रथम भएको छ ।
बाँके जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा नेपालगन्ज सेन्ट जेभियर्स स्कुल(छात्र) र नेपालगन्ज मोडेल एकेडेमी (छात्रा) मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको च्याम्पियन बनेका हुन् । बुधबार नेपालगन्जमा भएको फाइनल खेलमा नेपालगन्ज सेन्ट जेभियर्सले नेपालगन्ज मोडेल एकेडेमीलाई २–० ले पराजित गरेको छ ।
सेन्ट जेभियर्सको जितमा सुमित थापाले ६०औं र ६७औं मिनेटमा गोल गर्नु भएको थियो । फाइनल खेलको म्यान अफ द म्याच समेत हुनु भएका सुमितलाई नेपालगन्ज उप–महानगरपालिका उप–मेयर कमरुद्दिन राईले पुरस्कार प्रदान गर्नु भएको थियो ।
बुधबारै भएको छात्रा तर्फको फाइनलमा खेलमा नेपालगन्ज मोडेल एकेडेमीले बाँके खजुराको मनकामना माविलाई २–० ले हराउँदै च्याम्पियन बनेको छ । नेपालगन्ज मोडेल एकेडेमीको जितमा तिलसरा बुढाले २०औं मिनेट र चमेली चौधरीले ५०औं मिनेटमा गोल गर्नु भएको थियो ।
फाइनल खेलमा वुमन अफ द म्याच नेपालगन्ज मोडेल एकेडेमीकी तिलसरा बुढा हुन सफल हुनु भयो । उहाँलाई युवा व्यवसायी ओम सप्लायर्सका प्रमुख बल बहादुर विष्ट(बबी)ले पुरस्कुत गर्नु भएको थियो ।
बाँके जिल्ला फुटबल संघको आयोजना र नेपालगन्ज उप–महानगरपालिकाको सहयोगमा भएको प्रतियोगितामा नेपालगन्ज सेन्ट जेभियर्सका सुमित थापा र मनकामना मावि खजुराकी खेलाडी लक्ष्मी विक सर्वोत्कृष्ट खेलाडी घोषित हुनु भयो । प्रतियोगितामा अनुशासित टिमको पुरस्कार जीवन ज्योती स्कुल कोहलपुरले प्राप्त गरेको छ ।
प्रतियोगिताका विजयी खेलाडीलाई नेपालगन्ज उप–महानगरपालिका मेयर प्रशान्त विष्ट, उप–मेयर कमरुद्दिन राई, आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् एन्फा केन्द्रिय सदस्य भोजराज शाही, नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १ अध्यक्ष एवम् प्रवक्ता प्रमोद रिजाल, सदस्य जगमोहन कादु, एचसीआरसी हस्पिटलका व्यवस्थापक रमेश सिटौला, जीवन ज्योती स्कुलका प्रिन्सिपल फादर जोमन जेम्स, नेपालगन्ज उप–महानगरपालिका शिक्षा महाशाखा प्रमुख उप–सचिव गोर्ख बहादुर थापा, एन्फा बाँके उपाध्यक्ष एवम् प्रतियोगिता संयोजक निर्मल चन्द, एन्फाका पुर्व उपाध्यक्ष गोर्वद्दन सिंह सम्झना, नेपाल इ–रिक्सा व्यवसायी संघ बाँकेका अध्यक्ष कुमार सिंह ठकुरी लगायतले पुरस्कृत गर्नु भएको थियो ।
धम्बोझीस्थित एन्फा ग्रासरुट फुटबल एकेडेमीमा ११ दिन सम्म चलेको प्रतियोगितामा बाँके जिल्लाका ८ स्थानीय तहका ३३ विद्यालयका ६ सय भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगितामा छात्रतर्फ २८ वटा र छात्रातर्फ ५ वटा स्कूलले भाग लिएका थिए । प्रतियोगिताको विजेताले २१ हजार उपविजेता टिमले ११ हजार प्राप्त गरेको छ ।