कांग्रेसको नीतिमा आयुर्वेदलाई प्राथमिकता दिन वाल्मिकीको सुझाव
Wednesday, February 21st, 2024, 6:38 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ९ फागुन
नेपाली कांग्रेस महासमिति बैठकमा केन्द्रिय सदस्य एवम् संविधान सभा सदस्य मैकुलाल वाल्मिकीले आयुर्वेद शिक्षा, आयुर्वेद स्वास्थ्य र कृषि, वन तथा आयुर्वेदको बारेमा सुझाव पेश गर्नु भएको छ । काठमाडौंमा भएको महासमिति बैठकमा नेपाली कांग्रेस महासमिति सदस्य समेत रहनु भएका वाल्मिकीले २०८४ सालमा कांग्रेसको एजेन्डामा आयुर्वेदका बारेमा समावेश हुनु पर्ने विषयमा सुझाव पेश गर्नु भएको हो ।
महासमिति बैठकले अब कांग्रेसको निति कस्तो हुने भन्ने विषयमा छलफल गरिरहेको छ । महासमिति बैठकमा प्राप्त सुझावलाई संकलन गर्दै कांग्रेसले आफनो निति निर्माण गर्ने गरेको छ ।
अब आउने २०८४ निर्वाचनमा कांग्रेसको निति भित्र पर्नु पर्ने महत्वपुर्ण सुझाव आफुले समुह गत छलफलमा पेश गरेको केन्द्रिय सदस्य वाल्मिकीले बताउनु भयो ।
उहाँले भन्नु भयो, ‘आयुर्वेद शिक्षा, आयुर्वेद स्वास्थ्य सेवा नेपालको लागि निकै आवश्यक छ । यसको विकास र स्तरउन्नतीमा राज्यले ध्यान दिन जरुरी छ । त्यसका लागि कांग्रेसले आउने आफनो चुनावी एजेन्डामा यस्ता विषयलाई सम्बोधन गर्न जरुरी छ ।’
केन्द्रिय सदस्य वाल्मिकीले आयुर्वेद शिक्षा सम्बन्धमा माध्यमिक शिक्षा तहमा आयुर्वेद योग र ध्यान सम्बन्धि पाठ्यक्रमहरु समावेश हुनुपर्ने, आयुर्वेदको उच्च शिक्षा एमडी, एमएस र पिएचडी स्तरको अध्ययन नेपालमा सुरुआत गर्नुपर्ने, नरदेवी आयुर्वेद चिकित्सालयलाई राष्ट्रिय आयुर्वेद प्रतिष्ठान वा राष्ट्रिय आयुर्वेद प्रतिष्ठान स्थापना गरिनुपर्ने, सम्पुर्ण आयुर्वेद संस्थाहरुको ओ एन्ड एम गरी सेवा विस्तार गरिनुपर्ने, आयुर्वेद फार्मेसीको सुरुआत गरिनु पर्ने लगायतका सुझाव दिनु भएको छ ।
यसैगरी केन्द्रिय सदस्य वाल्मिकीले आयुर्वेद स्वास्थ्य सम्बन्धमा सिंहदरबार बैद्यखाना विकास समितिलाई जिएमपीमा लगी आयुर्वेद औषधिको क्षेत्रमा आत्मनिर्भर बनाई निर्यात प्रवद्र्धन गर्न उच्च प्राथमिकतामा राख्नु पर्ने, स्वास्थ्य मन्त्रालयमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा महाशाखा बनाउनु पर्ने, जेष्ठ नागरिक सेवा स्तनपायी आमा कार्यक्रम, पञ्चकर्म सेवा कार्यक्रम तथा नसर्ने रोग व्यवस्थापनको लागि स्वस्थ जिवनशैली कार्यक्रमको अभियान संचालन गर्नु पर्ने लगायतको सुझाव दिएको बताउनु भयो ।
वाल्मिकीले नेपालको कर्णाली प्रदेश जडिबुडीको प्रचुर सम्भावना भएको क्षेत्र रहेकोले त्यसको मुख्य बजार विस्तारको लागि नेपालगन्जको बाँकेमा जडिबुटीको प्रशोधन तथा उत्पादन केन्द्र स्थापना गरिनु पर्ने सुझाव दिनु भएको छ ।