‘बिहान स्कुल दिउँसो काम’
Monday, February 26th, 2024, 4:32 pm
Kalpristha
नेपालगन्जका बिष्णु चिडीमार आफ्नो पढाईसंगै काम पनि गर्छन । आर्थिक अवस्था सुर्धान उनले पढाईसंगै काम थालेका हुन् । कामकै कारण पढाई भने छोड्ने अवस्था उनलाई हालसम्म आएको छैन । घरमा बुबा आमा र तीन भाईसंगै बस्ने बिष्णुको पढ्ने उमेर भएपनि आर्थिक समस्याले उनलाई पढाईसँगै काम गर्नुपर्ने अवस्थामा पुर्याएको हो ।
हुन् त उनका उमेर प्राय केटाहरु अध्ययन मात्रै गर्छन् । तर उनको अवस्था भने फरक छ । केही समय अघिसम्म बिष्णु अरुको पसलमा काम गर्थे । महिनाभरी काम गरेपछि मात्रै उनले काम बापतको पैसा पाउँथे । तर यो क्रममा उनलाई बिद्यालय लगायत काम पर्यो भने छुट्टि पाउन मुस्किल हुन्थयो ।
त्यसपछि उनले आफ्नै व्यवसाय गर्नुपर्छ भनेर सोच्न थाले तर उनीसंग व्यवसायका लागि चाहिने लगानी भएन । जस कारण उनले सोंचेको केही समयसम्म आफुले चाहेको काम शुरु गर्न सकेनन् । यसै बीचमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं–१२ का जनप्रतिनिधिको नजर उनमा परेपछि उनको सोंचले सार्थकता पाउने भयो । जनप्रतिनिधिले आफ्नै व्यवसाय गर्ने सोंच भएका तर आर्थिक रुपमा सक्षम नभएकालाई अवसर प्रदान गर्ने नेपालगञ्जस्थित सामाजिक बिकास मंच (एस डिएफ) लाई उनको बारेमा जानकारी गराए ।

……………..
एसडिएफले उनलाई भेटेर अवस्थाको पहिचान गरि उनलाई व्यवसाय गर्ने अवसर प्रदान गर्ने जनाएपछि उनी खुशी भएका थिए । उनी भन्छन्, ‘वडा कार्यालयका जनप्रतिनिधिले समन्वय गरेपछि मैले आफ्नो व्यवसाय संचालन गर्न सकेको छु ।’ नेपालगञ्ज–१२ चिडिमार टोलमा बस्ने बिष्णु धम्बोझी माध्यमिक बिद्यालयमा कक्षा १० मा अध्ययन गर्छन । घरको कमजोर आर्थिक अवस्थाले जसोतसो अध्ययन गर्ने अवसर पाएका बिष्णुलाई व्यवसायमा पनि चुनौतीको सामना गर्न पर्यो ।
सबैभन्दा ठुलो त उनले सोंचे अनुसार अध्ययनलाई समय दिन छैनन् । काम पनि गर्नुपर्ने र अध्ययन पनि संगसंगै गर्नुपर्ने भएकाले उनले सोंचे अनुसार बिद्यालय बाहेकको समयमा पढाईलाई समय दिन नसक्नु उनका लागि चुनौती रहेको छ । तरपनि अध्ययन र काम संगसँगै लैजान सक्दो प्रयास गरिरहेको उनी बताउँछन् ।
उनले आफ्नै व्यवसायका रुपमा फ्रेस हाउस संचालन गरेका हुन् । बेलासुर जाने रोडमा उनले पूनम फ्रेस हाउस नामबाट व्यवसाय खोलेका छन् । व्यवसायका लागि संस्थाले सीपमुलक तालिम तथा डि फ्रिज लगायतका सामाग्री सहयोग गरेपछि व्यवसाय संचालन गर्न सहज भएको उनले बताए । यसअघि पनि उनले फ्रेस हाउसमा नै मासिक ज्यालादारीमा काम गर्थे । ‘आफ्नै व्यवसाय गरेपछि राहतको अनुभूति भएको छ,’ बिष्णुले भने, ‘अरुको काम गर्दा समयमै जानुपर्ने र चाहेको बेला छुट्टी नपाइने, अहिले आफ्नै छ, चाहेको बेला बन्द पनि गर्न सकिन्छ, सजिलो भएको छ ।’
अध्ययनका लागि समय चाहिएको बेला उनले ठुलो दाईलाई पसलको जिम्मा लगाउने गरेका छन् । फ्रेस हाउस संचालनबाटै चाहिने अन्य सामान पनि उनले जोडेका छन् । शुरु शुरुमा पसलको भाडा तिर्न पनि उनलाई गाह्रो भएको सुनाए । ‘दुई महिना भाडा तिर्न समस्या पर्यो,’ उनले भने, ‘अहिले सहज हुँदैछ ।’
बिहान बिद्यालय जाने र बिद्यालयबाट फर्केपछि उनले फ्रेस हाउसमा समय दिने गरेका छन् । उनको काममा उनका दाईले सहयोग गर्छन । उनी भन्छन्, ‘बिस्तारै राम्रो हुँदै गएपछि व्यवसायलाई ठुलो बनाउने लक्ष्य छ ।’ एसडिएफले बिष्णुलाई पढाईसँगै व्यवसायका लागि बाटो बनाएदिएको स्थानीय जनप्रतिनिधिले बताए । अन्य युवाले पनि यस्तै श्रम गर्न आवश्यक छ ।