एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ
Wednesday, April 17th, 2024, 12:21 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, ५ बैशाख
अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लागुऔषध खैरो हिरोइन कारोबार मुद्दामा १६ वर्षदेखि फरार रहेका दावालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
सर्लाही घर भई काठमाडौँ बस्दै आएका दावाले लागुऔषधको कारोबार गर्दै आएको सूचनाका आधारमा प्रहरीले २०६१ साउन ८ गते काठमाडौँ महानगरपालिका–१६, बालाजु वनस्थली चोकनजिकबाट ५ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गर्दा उनको साथबाट खैरो हेरोइन बरामद भएको थियो ।
पक्राउ परेपछि उनले बिक्री वितरणकै लागि त्यो लागुऔषध राखेको बयान दिएका थिए । उनलाई २०६१ भदौ २५ गते काठमाडौँ जिल्ला अदालतले मुद्दा पुर्पक्षका लागि थुनामा पठाएको थियो । पछि २०६२ जेठ १० मा जिल्ला अदालतबाट ६ महिना मात्र कैद सजायको फैसला भएपछि उनी कारागारमुक्त भएका थिए ।
तर, २०६४ जेठ २० गते न्यायाधीशद्वय अली अकवर मिकरानी र जनार्दनबहादुर खड्काको संयुक्त इजलासले काठमाडौँ जिल्ला अदालतले गरेको फैसला उल्ट्याउँदै दावालाई लागुऔषध खैरो हेरोइन कारोबारको मुद्दामा दोषी ठहर गर्दै पाँच वर्ष कैद सजाय र ५ हजार रुपैयाँ जरिबाना हुने फैसला सुनाएको थियो । अदालतको यो फैसलापछि उनी १६ वर्षदेखि फरार रहेका थिए ।