योगिनी एसएलसी ब्याज–२०५३ को पुर्नमिलन तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
Wednesday, November 4th, 2026, 8:10 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १८ कात्तिक
बाँकेको पुरानो सामुदायिक विद्यालय योगिनी माध्यमिक विद्यालय गौघाटको एसएलसी ब्याच–२०५३ का विद्यार्थीहरूले आयोजना गरेको भेटघाट, पुनर्मिलन कार्यक्रममा गुरुलाई सम्मान सम्मान गरिएको छ । साथै कार्यक्रमको अवसरमा विद्यालयको शैक्षिक स्तर विकास गर्न अन्य महत्वपुर्ण छलफल समेत भएको छ । खजुरा मिनी पार्कमा भएको आयोजित कार्यक्रममा तीन दशकपछि एकै ठाउँमा भेला भएका पूर्व विद्यार्थीहरूले पुराना स्मृति साटासाट गर्नुका साथै आफूहरूलाई शिक्षा, ज्ञान र संस्कार प्रदान गर्ने गुरुहरूलाई सम्मान गर्नु भएको थियो ।

…….
पूर्व विद्यार्थी अमृता नेपालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि विद्यालयका गुरु अर्जुनप्रसाद श्रेष्ठ रहनुभएको थियो । कार्यक्रममा विद्यालयका वर्तमान तथा पूर्व प्रधानाध्यापक, पूर्व शिक्षक, कार्यरत शिक्षक र पूर्व विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यक्रमको प्रारम्भमा पूर्व विद्यार्थी डीबी तामाङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । एसएलसी ब्याच–२०५३ का उत्कृष्ट विद्यार्थी तथा हाल ज्ञानोदय नमुना माध्यमिक विद्यालय, खजुरा–३ का प्रधानाध्यापक यमनारायण महतोले पूर्व विद्यार्थीहरूको भूमिका, विद्यालयको शैक्षिक तथा भौतिक विकासमा उनीहरूको योगदान र आगामी कार्यदिशासम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

…..
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिवशंकर रोकाय, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा एसएलसी ब्याच २०५४ का पूर्व विद्यार्थी नरेन्द्रप्रसाद भारती, पूर्व प्रधानाध्यापक केदारनाथ पाठक, पूर्व शिक्षकहरू तेजविक्रम शाह, टीकाराम पोखरेल, मोहनसिंह ठकुरी, पाण्डव थापा, इन्द्रबहादुर राई, खड्गदेव शर्मा तथा हाल आदर्श माध्यमिक विद्यालयमा कार्यरत पूर्व शिक्षक हरिप्रसाद निरौलालगायतको उपस्थिति रहेको थियो । ब्याचका कुल ३६ जना पूर्व विद्यार्थीमध्ये २४ जनाको कार्यक्रममा सक्रिय सहभागिता रहेको थियो । सहभागीमध्ये १२ जना महिला र १२ जना पुरुष रहेका थिए । कार्यक्रममा वक्ताहरूले यस्ता पुनर्मिलनले गुरु–शिष्य सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै मातृ विद्यालयको विकासमा पूर्व विद्यार्थीहरूको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरेका थिए ।
कार्यक्रमका अवसरमा सामाजिक उत्तरदायित्व तथा गुरुहरूप्रतिको कृतज्ञतासँग जोड्दै पूर्व विद्यार्थीहरूले दुई महत्वपूर्ण सहयोग गर्नु भएको छ ।
पूर्व विद्यार्थीहरूको सामूहिक पहलमा विद्यालयको नवनिर्मित हलको लागि आवश्यक कुर्सी खरिद तथा व्यवस्थापन गर्न २५ हजार रुपैयाँ विद्यालयलाई हस्तान्तरण गरिएको छ । शारीरिक रूपमा अस्वस्थ रहनुभएका कार्यक्रमका प्रमुख अतिथि तथा आदरणीय गुरु अर्जुनप्रसाद श्रेष्ठको उपचार सहयोगार्थ थप २५ हजार रुपैयाँ नगद प्रदान गरिएको छ । यसैगरी कार्यक्रममा सहभागी पूर्व विद्यार्थीहरूले योगिनी माध्यमिक विद्यालयको शैक्षिक, भौतिक, आर्थिक तथा संस्थागत विकासमा निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।