आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन मनाइदै
Wednesday, August 19th, 2020, 10:46 am
amit
काठमाण्डौ, ३ भदौ । भाद्र कृष्ण औँसीका दिन मनाने कुशे औँशी पर्व आज हिन्दु धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउने गरिन्छ ।
यसैगरी हिन्दु शास्त्र अनुसार आजको दिन उखेलेको कुश वर्षभरि प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने मान्यता रहेको छ । हिन्दु धर्मावलम्वीले कुश, तुलसी, पिपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतिक मानेर पूजा अर्चना गर्ने गर्दछन् ।
आज बुवाको मुख हेर्ने दिन पनि हो । बुवालाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान गर्ने गरिन्छ । बुवा नहुनेहरू बुवाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने गर्दछन् । काठमाण्डौको गोकर्णेश्वर महादेव मन्दिर, रसुवाको वेत्रावती लगायत ठाउँमा आज विशेष मेला लाग्ने गरेको भए पनि यो वर्ष कोरोनाको सङ्क्रमणका कारण भिडभाड र मेला नगर्न सरकारले निर्देशन दिएको छ ।
गोकर्णेश्वर नगरपालिका–४ का अनुसार आजका दिन गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बुवाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लाग्ने भएतापनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले मन्दिर क्षेत्रमा प्रवेश निषेध गरिएको छ भने मन्दिर छिर्ने चारवटै नाकामा प्रहरी राखिएको छ ।
यसैगरी रसुवा र नुवाकोट संगमस्थल वेत्रावतीमा लाग्ने मेला पनि यस वर्ष कोरोनाका कारण प्रभावित भएको छ । गोकर्णेश्वर नगरपालिकाले नागरिकलाई सुरक्षित रुपमा घर घरमै पितृ सम्मान दिवस मनाउन आह्वान गरेको छ । यसैबीच यो वर्षको कुशे औंसी प्रविधिको प्रयोग गरेर बुबाको मुख हेर्न डाक्टरले सुझाव दिएका छन् ।
जनरल फिजिसियन डाक्टर रक्षा गौतमका अनुसार अहिले कोरोना संक्रमण फैलिरहेकाले बुवाबाट टाढा रहेकाहरुले भेटेर भन्दा पनि प्रविधिको प्रयोग गरेर मनाउन राम्रो र सुरक्षित हुनेछ भने भिडियो हेरेर र फोन गरेर बुवाको मुख हेर्न सकिने छ । प्राय बुढाबुढी दीर्घरोगी हुने र भेट गर्न जाँदा कोरोना संक्रमण फैलिन सक्ने भएकाले यो वर्ष प्रविधिको प्रयोगबाट नै परम्परा जोगाउन उनले आग्रह गरेका छन् ।
यस्तै बुवा नभएकाहरुले बुवाको सम्झनामा श्राद्ध र पूजा गर्नेहरुले पनि भिडभाड नगरी, मास्क लगाएर र धेरै मान्छे नबोलाइकन छोटो तरिकारले बुवाको मुख हेर्ने दिन मनाउन उनको भनाइ रहेको छ ।