त्रिभुवन आर्मी क्लब च्याम्पियन
Sunday, January 8th, 2017, 2:53 am
amit
हेटौडा
मनाङ मर्स्याङ्दीलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब दोस्रो टुबोर्ग हेटौंडा आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
गतवर्ष फाइनलमा व्यहोरेको हारको बदला लिँदै उपाधिमा आफ्नो नाम लेखाउने क्रममा आर्मीले मनाङलाई २–० गोलअन्तरले पराजित गरेको थियो । आर्मीको जितमा भरत खवासले खेलको १८ औं मिनेटमा गोल गरेका थिए । दीपक गुरुङले थ्रो गरेको बलमा डि बक्सभित्र अनमार्क रहेका खवासले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए ।
१९ औं मिनेटमा मनाङका मुख्य फरवार्ड हफिज ओलावालेले रेड कार्ड खाएसँगै मनाङ दस खेलाडीमा सीमित भएको थियो । ओलावालेले आर्मीका सन्तोष तामाङलाई फाउल गरेबापत रेफ्री सुदीश पाण्डेले पहेंलो कार्ड देखाएका थिए । पहेंलो कार्ड देखाएसँगै ओलावालेले रेफ्रि पाण्डेलाई अपशब्द प्रयोग गरेसँगै उनलाई रेड कार्ड देखाइएको थियो ।
दस खेलाडीमा सीमित मनाङ मर्स्याङ्दीलाई आर्मीले खेललाई आफ्नो नियन्त्रणमा राखे पनि दोस्रो गोल गर्नका लागि ८४ औं मिनेट कुर्नु परेको थियो । आर्मीका भरत खवासलाई मनाङका डिफेन्डर सिसकोले फाउल गरेबापत् प्राप्त फ्रिक्किमा आर्मीका सन्तोष तामाङले गोल गर्दै अग्रतालाई दोब्बर पारेका थिए । उनको फ्रिक्किमा मनाङका गोलरक्षक दिनेश थापामगरले बचाउने कुनै मौका पाएनन् ।
मनाङका सुजल श्रेष्ठ, अनिल गुरुङ र विमल रानाले केही राम्रो मौकाहरु प्राप्त गरे पनि गोल भने गर्न सकेनन् । खेलमा आर्मीका गोलरक्षक विकेश कुथुले मनाङको केही राम्रो प्रहारहरुलाई निस्तेज पारेका थिए ।
उपाधिसँगै विजेता आर्मीले नगद पाँच लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । उपविजेता मनाङले नगद तीन लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भए । उनीहरुलाई पूर्वउपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष कमल थापा, पृतनापति देवकुमार सुवेदी, हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा प्रमुख पुरणबहादुर जोशीलगायतले पुरस्कार वितरण गरेका थिए ।
आर्मीका सन्तोष तामाङ सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद ५० हजार रुपैयाँ प्राप्त गरे । उत्कृष्ट गोलरक्षक आर्मीका विकेश कुथु, डिफेन्डर मनाङका विराज महर्जन, मिडफिल्डर आर्मीका सन्तोष तामाङ, फरवार्ड आर्मीका भरत खवास र प्रशिक्षक आर्मीका नविन न्यौपाने घोषित भए । उनीहरुले जनही नगद १५ हजार रुपैयाँ प्राप्त गरेका थिए ।
सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा पुस १४ गतेबाट हेटौंडा–१० स्थित फरेष्ट्री मैदानमा सञ्चालन भएको प्रतियोगितामा दुई विदेशीसहित दस क्लबहरुको सहभागिता रहेको थियो ।