काँक्रेविहार (सुर्खेत), ३२ साउनः
भेरी करिडोरको जाजरकोट भेरी नगरपालिका–४ बोहरामा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । पहिरोले विद्युत्का पोल बगाउँदा विद्युत् सेवा पनि बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार रुकुमपश्चिमको मुसिकोट नगरपालिका–११ र १२ को बीचमा पर्ने पितिबाङ खोलामा गए रातिको वर्षाका कारण बहाव बढ्दा राप्ती लोकमार्ग अवरुद्ध भएको छ ।

भेरी करिडोरको जाजरकोट भेरी नगरपालिका–४ बोहरा मोडमा पहिरो झरेर पूर्णरुपमा अवरुद्ध भएको सडक । पहिरोले विद्युत्को पोल, तार बगाउँदा विद्युत अवरुद्ध भएको हो । तस्बिरः हेमन्त केसी/रासस
बाटोमा केही समस्या नभएको र पानीको सतह घट्नेबित्तिकै राजमार्ग सञ्चालन छ । राजमार्ग अवरुद्ध हुँदा बिहानैदेखि दाङ जाने तथा त्यताबाट आउने सवारीसाधान तथा सदरमुकाम मुसिकोट आउने साना–ठूला सवारीसाधन पितिवाङ खोलामा रोकिएका छन् ।
यसैबीच, रुकुमपश्चिम खण्डमा मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ । चौरजहारी मुसिकोट खण्डअन्तर्गत सानीभेरी गाउँपालिकाको चाइनाबगर र गिठागोटमा पहिरो खस्दा लोकमार्ग अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक पोखरलले जानकारी दिनुभयो ।