राप्तीसोनारीमा दुई समूहबीच ‘ग्याङ फाइट’, दुई गम्भीर घाइते
Sunday, August 18th, 2024, 6:14 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २ भदौ
बाँकेमा दुई समूहबीच भएको झडपमा दुई युवा गम्भीर घाइते भएका छन् । जिल्लाकोको राप्तीसोनारीमा शनिबार साँझ भएको झडपमा बैजनाथ गाउँपालिका वडा नं–७ का २८ बर्षीय सुलभ मल्ल र राप्तीसोनारी गाउँपालिका वडा नं–२ बस्ने २८ बर्षीय सन्दीप बिष्ट घाइते हुनुभएको हो ।
उनीहरुबीच राप्तीसोनारी गाउँपालिका वडा नं–५ बिनौनामा शनिबार बेलुकी करिव साढे ७ बजेतिर झडप भएको थियो । घाईते मल्लको बाँया कोखामा गहिरो चोट लागेको र अवस्था गम्भीर रहेको छ भने विष्टको दुबै हात र कुममा चोट लागेको छ ।
घाइतेहरुको नेपालगन्ज मेडिकलमा उपचारपछि थप उपचारका लागि भारत लखनऊ लगिएको छ । नदीजन्य पदार्थको उत्खनन् र बिक्री बितरणमा कुरा नमिलेपछि दुई समुहबीच झडप भएको बताइएको छ ।
एता बाँके प्रहरीले घट्नामा संलग्न भएका चार जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले युवा संघ नेपाल बाँकेका अध्यक्षसमेत रहनुभएका राप्ती सोनारी–२ का वडाअध्यक्ष ओलीसहित ४ जनालाई नियन्त्रणमा लिइएको छ ।
घाइतेले केही आक्रमणकारीको पहिचान गरेको आधारमा चार जनालाई नियन्त्रणमा लिएको र घटनाको थप अनुसन्धान भइरहेको बाँकेका प्रहरी प्रमुख तुलबहादुर कार्कीले जानकारी दिनुभयो ।
तरुण दल बाँकेद्धारा दोषीलाई कारबाहीको माग
खुकुरी प्रहारबाट दुई युवा गम्भीर घाइते भएको विषयलाई लिएर नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरूण दल बाँकेले दोषीमाथि कारबाहीको माग गरेको छ ।
तरूण दल बाँकेका अध्यक्ष वीरेन्द्रबहादुर शाह र सचिव विनोद रिजालले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै आफ्नो सदस्यद्वयमाथि भएको सांघातिक हमलाका दोषीलाई तत्काल कारबाही नभए आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिएका छन् ।
……………
तरूण दलको नेताहरूले जारी गरेको विज्ञप्तिमा विगतदेखि नै आतंक मच्याउँदै आएको आपराधिक समूहले छिमेकी जिल्ला दाङबाट समेत गुण्डागर्दीमा आबद्ध गिरोहका मान्छेहरू बोलाएर बिनौना चोकमा ढुकेर राप्ती सोनारी गाउँपालिका–२ का वडाध्यक्ष ज्ञानेन्द्र राज वली भनिने (ज्ञानु) को समूहले आक्रमण गरिएको दोषारोपन गरिएको छ ।
तरूण दल बाँकेका अध्यक्ष वीरेन्द्रबहादुर शाह र सचिव विनोद रिजालले जारी गरेको विज्ञप्तिमा वडाध्यक्ष वलीको नेतृत्वमा स्थानीय नारायण डाँगी समेतका १० देखि १५ जनाको समूहले बाटो ढुकेर योजनाबद्ध रूपमा सांघातिक आक्रमण गरेको उल्लेख गरेका छन् ।