विदेशमा रहेका नेपालीहरुको लागि स्थगित भएको उद्धार उडान पुन : सञ्चालन हुने, होटल क्वरेण्टीनको सूची सार्वजनिक
Friday, August 21st, 2020, 2:00 pm
amit
काठमाण्डौ, ५ भदौ । सरकारले विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश फर्काउन बन्द भएका उद्धार उडान फेरि सुरु गर्ने निर्णय गरेको छ ।
मंगलबार कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले उद्धार उडानहरू स्थगित गर्ने निर्णय सच्याउँदै मन्त्रिपरिषद्को बिहिबार बसेको बैठकले सर्तसहित उद्धार उडान खुलाउने निर्णय गरेको हो ।
पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका अनुसार स्वदेश फर्कने नेपालीले पीसीआर रिपोर्ट अनिवार्य रूपमा ल्याउनुपर्ने र काठमाण्डौ उत्रिसकेपछि होटल क्वरेण्टीनमा बस्नुपर्ने निर्णय भएको छ ।
यसैगरी होटलमा बस्न नसक्नेलाई पनि सरकारले ल्याउने व्यवस्था गरिएको छ तर उनीहरू सरकारले तोकेको क्वरेण्टीनमा बस्नुपर्ने उनले बताएका छन् । साथै उनीहरूको खर्च श्रम कल्याणकारी कोषमार्फत तिरिने व्यवस्था गरिएको छ भने पीसीआर परीक्षणको व्यवस्था नभएको देशबाट आउनेले कोरोना नलागेको सुनिश्चितता गर्नुपर्ने मन्त्री भट्टराईले बताएका छन् ।
त्यस्तै उद्धार गरिएका नेपालीहरुलाई राख्नको लागि सरकारले काठमाण्डौका होटलको सूची पनि सार्वजनिक गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डौले सूचनामार्फत पाँचतारे होटलदेखि पर्यटकस्तरीय होटलसम्मको विवरण सार्वजनिक गरेको हो । विवरण अनुसार पाँचतारे होटलमा बस्नेले एक दिनको नौ हजार रुपैयाँसम्म तिर्नुपर्नेछ । त्यसैगरी चार तारेमा बस्नेले प्रतिदिन ६ हजार, तीनतारेमा बस्नेले प्रतिदिन ५५ सय, दुईतारेमा बस्नेले ३५ सय, एकतारेमा बस्नेले २५ सय र पर्यटक स्तरीय होटमा बस्नेतले प्रतिदिन १८ सय रुपैयाँसम्म तिर्नुपर्ने निर्णय गरिएको छ ।