प्रशासकीय अधिकृतलाई हाजिर हुन नदिन मेयरले लुकाए हाजिरी रजिष्टर
Friday, August 23rd, 2024, 4:33 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
जाजरकोट, ७ भदौ
नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने थाहा पाएपछि जाजरकोटको नलगाड नगरपालिका प्रमुख डम्बरबहादुर रावतले कर्मचारी हाजिरी खाता (रजिष्टर) नै गायब गर्नुभएको छ । सरुवा भएर आउनुभएका कार्यकारी अधिकृत गोपाल शाहीलाई हाजिर हुन नदिने भन्दै उहाँले खाता (रजिष्टर) नै गायब बनाउनुभएको हो ।
नगर प्रमुखले हाजिरी खाता लुकाएपछि नगरका कर्मचारीले शुक्रबार हाजिर गर्न पाएका छैनन् । नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन नदिन मेयरले हाजिरी खाता (रजिष्टर) लिएको प्रशासन शाखाका एक कर्मचारीले बताए । तत्कालीन कार्यकारी अधिकृत दिनेश भट्टराईको सूचना आयोगमा सरुवा भएको पत्र साउन २७ गते नगरपालिकामा आएको थियो । पत्र आएसँगै नलगाड नगरपालिकामा जिल्ला समन्वय समितिबाट शाही रमाना लिएर पुग्नुभएको छ ।
बिहीबार नगरपालिकामा शाही आउने जानकारी पाएलगत्तै नगर प्रमुखले मन्त्रालयलाई दुईवटा पत्र पठाउनुभएको थियो । नगरपालिकाका एक कर्मचारीका अनुसार मेयर रावतले बिहीबार नै हाजिर खाता मागेर आफ्नो कार्यकक्षमा राख्नुभएको थियो । आफू नगरपालिकामा नभएको बेला हाजिर गराउन सक्ने आशंकाले कार्यकक्षमा हाजिर खाता राखेर उहाँ हिँडेको ती कर्मचारीले बताए । मन्त्रालयले नलगाडमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत (शाखा अधिकृत) भट्टराईलाई सरुवा गरेर सो ठाउँमा शाहीलाई सरुवा गरेपनि भट्टराईलाई नै प्रमुख प्रशासकीय अधिकृत राख्नुपर्ने भन्दै नगर प्रमुख रावतले मन्त्रालयलाई पत्र लेख्नुभएको थियो ।
एता मेयर रावतले भने नगरपालिकामा ई–हाजिरीको व्यवस्था भएकाले आफूले हाजिर खाता (रजिष्टर) नलुकाएको दाबी गर्नुभएको छ । त्रिभुवन माविको सम्पत्ति हिनामिनाको विषय छानबिनलगायतका काम बाँकी रहेकाले केही समय भट्टराईलाई नै प्रमुख प्रशासकीय अधिकृत राख्न खोजिएको उहाँको भनाइ छ । सम्पत्ति हिनामिनाको विषयमा छानबिन गर्न भट्टराईकै संयोजकत्वमा समिति बनाइएकाले छानबिन नसकिएसम्म उहाँलाई नै काम गर्न दिन मन्त्रालयमा आग्रह गरेको मेयर रावतले बताउनुभयो ।