निर्माण व्यवसायीले जिम्मेवारी पूरा नगर्दा समस्याः मुख्यमन्त्री आचार्य
Sunday, August 25th, 2024, 6:00 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
दाङ, ९ भदौ
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निर्माण व्यवसायीले आफूले लिएको जिम्मेवारी समयमा पूरा नगर्दा जटिलताहरु देखिएको बताउनुभएको छ । निर्माण व्यवसायीलाई समयमा जिम्मेवारी पूरा गर्नेतर्फ ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।
राप्ती उपत्यका देउखुरीमा आयोजित नेपाल निर्माण उद्योग परिषद् लुम्बिनी प्रदेशको दोस्रो अधिवेसनको आइतबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले निर्माण व्यवसायीका समस्या समाधान गर्न सरकारले काम गरिरहेको बताउनुभयो । “निर्माण व्यवसायीले आफ्नो जिम्मेवारी पूरा गर्ने कि नगर्ने ? अहिले आयोजनाहरु अलपत्र देखिन्छन्”, उहाँले भन्नुभयो, “काम पूरा गर्न, भुक्तानी लिन असार किन कुर्नुपर्छ ? पहिले नै काम सम्पन्न गर्न केले रोक्छ ?”
उहाँले सरकारले योजना कार्यान्वयनलाई गुणस्तरीय र प्रभावकारी बनाउन रु पाँच लाखभन्दा माथिका योजनालाई प्रतिस्पर्धाको माध्यमबाट कार्यान्वयन गर्ने नीतिगत निर्णय गरेकोसमेत जानकारी दिनुभयो । योजना कार्यान्वयनमा हुने चुहावट रोक्न सरकार प्रतिबद्ध रहेकाले पूर्वाधार निर्माणलाई प्रतिस्पर्धाको माध्यमबाट अघि बढाउन खोजेको स्पष्ट पार्नुभयो । योजना कार्यान्वयन गर्दा सरकारले गत बर्षको रु दुई अर्ब १३ करोड भुक्तानी दिनुपर्ने जिम्मेवारी थपिएको तर स्रोत जुटाउने गरी सरकारले पहल लिएको भनाइ उहाँको छ ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री सीता शर्मा चौधरीले समृद्ध लुम्बिनी बनाउने अभियानमा सरकार र निर्माण व्यवसायीबीच सहकार्य गर्नुपर्ने बताउनुभयो । नेपाल निर्माण व्यवसायी महासङ्घका केन्द्रीय सदस्य अशोककुमार केसीले सरकारले खरिद नियमावलीलाई समयानकूल बनाउनुपर्ने बताउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा अवकाश प्राप्त सडक डिभिजन प्रमुख जयलाल मरासिनी, नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनी प्रदेश कमिटी सचिव लक्ष्मण आचार्यलगायतले सही नीति र स्पष्ट विचारले मुलुकको विकास गर्ने भएकाले त्यसतर्फ अघि बढ्न आग्रह गर्नुभयो ।