सम्झौता अवधिमा बन्ने भएन् परसपुर–गौघाट सडक खण्ड
Wednesday, August 28th, 2024, 8:00 am
Kalpristha
करिब १४ करोडमा कन्काई–गणपति जेभीले सडक निर्माणको ठेक्का पाएपनि निर्माण कार्यमा भने सुरुआत देखि नै ढिलाई हुँदैं आएको थियो । ठेकेदारको लापरबाहीका कारण परसपुर–गौघाट सडकको कालोपत्रे नहुँदा यहाँका स्थानीयले थप दुःख पाईरहेका छन् ।
कमल खत्री
नेपालगन्ज, १२ भदौ
बाँके र बर्दियाको पश्चिम क्षेत्रका जनताले दैनिक दुःख पाइरहेको परसपुर–गौघाट सडक खण्डको कालेपत्रे निर्धारित समयमा नबन्ने भएको छ । भदौं २५ गते सडक निर्माणको सम्झौता सकिदैछ । तर काम भने करिब २० प्रतिशत मात्र भएको छ । संघीय सरकारको लगानीमा बन्न लागेको उक्त सडक खण्ड निर्माणको लागि कन्काई–गणपति जेभीले ठेक्का पाएको थियो । नेपालगन्जको परसपुर देखि गौघाट सम्म १४ किलोमिटर सडक कालोपत्रे गर्नको लागि कन्काई–गणपति जेभीले ठेक्का पाएको थियो ।
करिब १४ करोडमा कन्काई–गणपति जेभीले सडक निर्माणको ठेक्का पाएपनि निर्माण कार्यमा भने सुरुआत देखि नै ढिलाई हुँदैं आएको थियो । ठेकेदारको लापरबाहीका कारण परसपुर–गौघाट सडकको कालोपत्रे नहुँदा यहाँका स्थानीयले थप दुःख पाईरहेका छन् । नेपालगन्ज उप–महानगरपालिका, जानकी, खजुरा गाउँपालिका र बर्दिया बढैयाताल गाउँपालिकाका जनताले दैनिक प्रयोग गर्ने सडक हो परसपुर–गौघाट सडक खण्ड ।
सडक डिभिजन कार्यालय नेपालगन्जका प्रवक्ता इन्जिनियर अमिर सुवेदीका अनुसार हाल उक्त योजनाको २० प्रतिसतमात्र काम सकिएको छ । सडकको केहि भागमा नालाको काम र माटो पटान भन्दा अरु केहि प्रगति भएको छ । निर्माण कार्यको गतिलाई बढाउन ठेकेदार कम्पनीलाई पटक–पटक ताकेता गरेपनि सम्पर्कमै नआउने गरेको ईन्जिनियर सुवेदीले बताउनु भयो । ठेक्का पाएको कम्पनीको लापरबाहीका कारण समयमै योजना सम्पन्न नहुने उहाँले बताउनु भयो । उहाँले भन्नु भयो,‘हामीले समयमै योजना सम्पन्न गर्नको लागि ठेकेदार कम्पनीलाई दबाब दिदैं आएका छौं । कानुनी रुपमा कारबाहीको लागि प्रक्रिया पनि अगाडी बढाएका छौं । तर प्रगति भने निराशाजनक छ ।’
सम्झौता अनुसार कन्काई–गणपति जेभिले २०७९ वैशाख देखि निर्माण कार्य सुरु गरेर २०८१ भदौं २५ सम्म योजना सम्पन्न गर्नु पर्ने सर्त रहेको छ । परसपुर–गौघाट सडक खण्ड निर्माण कार्यमा ढिलासुस्ती भएको भन्दैं यहाँका स्थानीयले आन्दोलन समेत गरेका थिए । खजुराका जनताले स्थानीय जनप्रतिनिधि र सडक डिभिजन कार्यालयमा गएर सडक निर्माण कार्यलाई छिटो सम्पन्न गर्नु पर्ने दबाब दिदै आएका छन् ।
सडक समयमै निर्माण नभएको भन्दैं स्थानीयले खजुरा गाउँपालिका वडा नम्बर २ को कार्यालयमा तालाबन्दी समेत गरेका थिए । तर हाल सम्म यसका बारेमा भने कुनै सुनुवाई भएको छैन् । बाँकेको पश्चिम क्षेत्रमा पर्ने उक्त सडक खण्डले सिमावर्ती क्षेत्रका बाँके र बर्दियाका जनतालाई नेपालगन्जसँग जोड्ने काम गर्छ । २०७४ सालमा सडकको कालोपत्रे निकालेर पिच गर्ने योजना अगाडी सारिएको थियो । तर हाल सम्म पनि उक्त सडकको स्तर बृद्धि हुन सकेको छैन् । जसका कारण स्थानीले समस्या भोग्दै आउनु परेको छ । चार महिना अघि आन्दोलनको अगुवाई गर्नु भएका स्थानीय रेशम क्षेत्रीले ठेकेदार कम्पनीले सम्झौता अनुसार बाटो निर्माण कार्य समयमै गर्नुपर्ने माग राख्नु भएको थियो ।
पटक–पटक निर्माण कम्पनीलाई दबाब दिएपनि काम हुन नसकेको खजुरा गाउँपालिका वडा नम्बर २ अध्यक्ष धनराम ओलीले बताउनु भयो । वडा कार्यालयमा लागेको ताला सहमतिमा खोले पछि वडा अध्यक्ष ओलीले ठेकेदार कम्पनीले काम नगरे कानुनी रुपमा कारबाहीको लागि सरकारले प्रक्रिया अगाडी बढाउनु पर्ने बताउनु भयो । यसैगरी गत माघ महिनामा सम्झौता अनुसार सन्तोष जनक काम नगरेको भन्दैं सडक डिभिजन कार्यालय नेपालगन्जले कन्काई–गणपति जेभी सहित ९ वटा कम्पनीलाई सातदिन भित्र कार्य सम्पादन सन्तोष जनक नभएको बारेमा लिखित प्रतिवेदन सहित कार्यालयमा सम्पर्क गर्न सुचना जारी गरेको थियो ।
कन्काई–गणपति जेभिका प्रमुख तुलसीराम भण्डारी भदौं २५ गते सम्म निर्माण कार्य सम्पन्न हुन नसक्ने बताउनु भयो । अहिले वर्षातको समय भएकोले पिच गर्न नसकिने भन्दैं केहि समय माग गर्ने भण्डारीले बताउनु भएको छ । उहाँले भन्नु भयो, ‘आर्थिक मन्दिका कारणले पनि समयमै काम सम्पन्न गर्न सकिएन् । सम्झौता अनुसार भदौं २५ गते सम्म काम सम्पन्न गर्न कठिन छ । करिब ८ महिना अझै हामीलाई समय लाग्छ । त्यसको लागि हामी सरकारसँग समय माग गछौं ।’