इन्टर मिलनलाई हराउदै सेभिल्ला छैटौं पटक बन्यो युरोपा लिग च्याम्पियन
Saturday, August 22nd, 2020, 12:39 pm
amit
एजेन्सी, ६ भदौ । स्पेनिस क्लब सेभिल्लाले छैटौं पटक युइएफए युरोपा लिगको उपाधि जित्दै नयाँ किर्तीमान कायम गरेको छ ।
सेभिल्लाका लुक डे जोङको दुई गोल र लुकाकुको आत्मघाती गोलले गर्दा सेभिल्लाले इटालियन क्लब इन्टर मिलानलाई पराजित गर्दै यस सिजन युरोपा लिग च्याम्पियन बनेको हो ।
एक गोलले पछि परेको सेभिल्लाले नतिजा नै उल्टाउँदै इटालियन क्लब इन्टरलाई ३ – २ ले हराउदै यो पटकको विजेता बनेको हो ।
जर्मनीको कोलोनमा शुक्रबार राति भएको फाइनलको पाँचौ मिनेटमै लुकाकुले पेनाल्टीमा गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । सेभिल्लाका डिएगो कार्लोस्ले लुकाकुलाई फाउनल गरेपछि त्यसैमा प्राप्त पेनाल्टीमा लुकाकुले गोल गरे ।
इन्टरको अग्रता लामो समयम टिक्न सकेन । १३औं मिनेटमा लुक डे जोङले सेभिल्लाका लागि बराबरी गोल गरे । ३३औं मिनेटमा जोङले व्यक्तिगत दोस्रो गोल गरेपछि सेभिल्लाले २–१ को अग्रता बनायो । त्यसको दुई मिनेटपछि इन्टरका डिउगो गोडिनले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि खेल रोमाञ्चक बनेको थियो । पहिलो हाफ बराबरीमै सकियो ।
दोश्रो हाफको ७४औं मिनेटमा सेभिल्लाका डिएगो कार्लोसले प्रहार गरेको ओभरहेड किकलाई लुकाकुले आफ्नै पोष्टमा आत्मघाती गोल गरे जुन सेभिल्लालाई जिताउन निर्णायक बन्यो । त्यसपछि सेभिल्लाले अग्रता बनाउँदै खेल जित्यो ।
लुकाकुको उक्त आत्मघाती गोलले गर्दा ९ वर्षपछि पहिलो पटक उपाधि जित्ने इन्टरको सपना पूरा हुन सकेन भने इन्टरले २०११ यता कुनै पनि उपाधि जित्न सकेको छैन ।
उता सेभियाले भने युइएफए कपरयुरोपा लिगको फाइनलमा कुनै पनि खेल हारेको छैन । अहिलेसम्म ६ पटक फाइनल पुग्दा सेभियाले ६ पटक नै उपाधि जितेको छ । सन् २००६ र २००७ मा लगातार उपाधि जितेको सेभिल्लाले २०१४, २०१५ र २०१६ मा लगातार तीन पटक युरोपा लिग उपाधि जित्दै उपाधिमा ह्याट्रिक नै गरेको थियो ।