फुटबल खेलाडीको सम्झनामा दिप प्रज्वलन
Thursday, October 3rd, 2024, 8:18 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १७ असोज
मकवानपुर हेटौडाको पहिरोमा परी मृत्यु भएका फुटबल खेलाडीको सम्झनामा बाँके जिल्ला फुटबल संघले शोक सभा तथा दिप प्रज्वलन कार्यक्रम गरेको छ ।
नेपालगन्जको विरेन्द्र चोकमा शुक्रबार साझ फुटबलकर्मी तथा खेलाडीहरुको उपस्थितीमा दिप प्रज्वलन गरिएको थियो ।
गत असोज ११ गते अखिल नेपाल फुटबल संघ(एन्फा) अन्तर्गत मकवानपुरको सिस्नेरीमा रहेको फुटबल एकेडेमीका खेलाडीहरुको सुरक्षित स्थानमा जाने क्रममा पहिरोमा परेर मृत्यु भएको थियो ।
पहिरोमा परेर मृत्यु भएका दिवश बाँनिया, प्रियान्स आचार्य, अनुपम घलान, साईमन योञ्जन, विकल रेग्मी र आदित्य बलम्पाखीको सम्झनामा बाँकेका फुटबलकर्मीले दिप प्रज्वलन गरेका हुन् ।
शोक सभा तथा दिप प्रज्वलन कार्यक्रममा एन्फाका पुर्व अध्यक्ष गोर्वधन सिंह सम्झना, लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्यद्धय जनक केसी, डिबी तामाङ, खजुरा गाउँपालिका वडा नम्बर १ अध्यक्ष मनवीर क्षेत्री, नेपाली कांग्रेस बाँकेका सह–सचिव बिनोद थारु, फुटबल क्लबका पदाधिकारी, खेलाडी तथा फुटबल कर्मीहरुको सहभागिता रहेको थियो ।
असोज ११ गते भएको दुःखद घटनाले नेपाली फुटबलमा अतुलनीय क्षति पुगेको बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताउनु भयो । एन्फा उपाध्यक्ष सम्झनाले यस्ता प्राकृतिक घटनाहरुमा हामीहरुले सचेत भएर काम गर्नु पर्ने बताउनु भयो ।