डुडुवामा सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता सुरु, आयोजकको सहज जित
Sunday, October 6th, 2024, 7:31 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १९ असोज
बाँकेको डुडुवा गाउँपालिकामा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशी भएको फुटबल प्रतियोगिता शुरू भएको छ । प्रत्येक वर्ष फुटबल प्रतियोगिता आयोजना गर्दै आएको डुडवा गाउँपालिका वडा नम्बर ५ स्थित नवदुर्गा युवा क्लब कम्दीले यस वर्ष पनि प्रतियोगितालाई निरन्तरता दिएको हो ।
प्रतियोगितालाई डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले उद्घाटन गर्नु भएको थियो । अध्यक्ष चौधरीले प्रतियोगिता उत्साह ल्याएको भन्दै युवाहरूलाई खेल क्षेत्रमा लाग्न उत्प्रेरित गर्नु भयो । लामो समयदेखि यहाँका युवाहरूले गर्दै आएको कार्य अरूभन्दा उत्कृष्ट रहेको अध्यक्ष चौधरीले बताउनु भयो ।
उद्घाटन खेलमा आयोजक नवदुर्गा युवा क्लव (ए) ले शक्ति युवा स्पोट्र्स क्लबलाई ८–१ को गोल अन्तरले पराजित गरेको छ । आयोजकको तर्फबाट खेल सुरु भएको १० सेकेन्डमै गोल गर्न सफल दिपकराज सिंह ठकुरीले लगातार तीन गोल गर्दै प्रतियोगिताकै पहिलो ह्याट्रिक गर्न सफल हुनुभएको छ । खेलमा आयोजकको तर्फबाट भुपेन्द्र शाहीले ३ गोल, बिपिन थापा मगर र क्षितज थापा मगरले समान १–१ गोल गर्नुभएको थियो ।
प्रतियोगिता उद्घाटन अघि क्लबका दिवंगत सदस्यहरूको फोटोमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो । प्रतियोगितामा यस पटक पुरस्कार राशीमा भारी बृद्धि गरिएको छ । आयोजकका अनुसार संस्थाले हालसम्म आयोजना गरेको प्रतियोगितामध्ये सबैभन्दा बढी पुरस्कार राशीको प्रतियोगिता आयोजना गरिरहेको छ ।
क्लबका अध्यक्ष निर्मल चन्दले हरेक वर्ष यसखाले प्रतियोगिता आयोजना गर्दै आएको र यस वर्ष पनि प्रतियोगिालाई निरन्तरता दिएको जानकारी दिनुभयो ।
सक्षम खेलाडी उत्पादन, डुडुवाका खेलाडीहरुलाई अवसर प्रदान गर्नु र लागू औषध दुव्र्यसनबाट युवाहरुलाई निरुत्साहित गरि समाजको विकासमा प्रेरित गर्नु क्लबको उद्देश्य रहेको उहाँले बताउनु भयो ।
प्रतियोगिताको बिजेता टिमले १ लाख ११ हजार १ सय ११ रुपैयासहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपबिजेता टिमले ५५ हजार ५ सय ५५ रुपैयासहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।
प्रतियोगितामा म्यान अफ द म्याच, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोेलरक्षकलाई आकर्षक पुरस्कार प्रदान गरिने जनाइएको छ । बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा असोज १८ गतेदेखि संचालन हुने भनिएको प्रतियोगिता प्राविधिक कारणले शनिबारदेखि शुरू भएको हो ।
उद्घाटन कार्यक्रम बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाही, लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य जनक केसी, डुडुवा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष झंक बहादुर थापा, बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्री, समाजसेवी बेलबहादुर बोहरा, कृष्ण गिरी, पूर्व प्रहरी तथा साहित्यकार लेखक विकास बाबू थापा लगायतको उपस्थिति रहेको थियो ।