फेरी फाइनलमा तेरिया मगर
Sunday, January 8th, 2017, 10:56 am
amit
बुटवल-करिव दुई वर्ष अघि ‘डान्स इन्डिया डान्स’ लिटिल मास्टरको उपाधि जितेकी तेरिया फौजामगर अहिले ‘झलक दिखला जा’ को फाइनल राउन्डमा पुगेकी हुन् । १४ वर्षे तेरियाले यसमा भारतीय सिनियर डान्स स्टारबीच प्रतिस्पर्धा गर्दै छिन् । भारतीय टीभी कलर्सले डान्स स्टारबीच यो प्रतिस्पर्धा गराएको छ । विजेताहरूबीच प्रतिस्पर्धा गराउने यो प्रतियोगिता भारतीय टीभी सोमा सर्वाधिक पुरस्कार राशिको हो । प्रतिस्पर्धा जित्नेले ३० लाख भारतीय रुपैयँ र रेनाल्ड डस्टर ब्रान्डको कार उपहार पाउनेछन् ।
१४ वर्षे तेरियाले डीआईडी विजेताको तर्फबाट ‘झलक दिखला जा’ सिजन ९ मा प्रवेश पाएकी हुन् । गत जुलाईमा प्रतियोगिता सुरु भएको थियो । त्यसमा १२ जोडी सिनियर महिला पुरुष डान्स सेलिब्रिटी छनोट भएका थिए । तेरियासहित ५ जना जुनियरलाई भने अक्टोबर ८ मा च्यालेन्जरका रूपमा प्रवेश गराइएको थियो । च्यालेन्जरका रूपमा प्रवेश पाएकामध्ये तेरिया मात्रै फाइनलमा पुगेकी छन् । फाइनलमा उनले ‘डीआईडी’ सिजन १ का विजेता तथा ‘झलक दिखला जा’ का पूर्वविजेता सलमान युसुफ खान र वल्र्ड हिपहपका च्याम्पियनसिपका विजेता सानतनु महेश्वरीसँग प्रतिस्पर्धा गर्नेछिन् ।
फाइनलमा रहेको तीनजनामध्ये अहिलेसम्म तेरिया अगाडि छिन् । नृत्य सोमा निर्णायकले उनको प्रशंसा गर्ने गरेका छन् । प्रतियोगिताको उपाधिका लागि जनवरी १४ तारिखदेखि २१ सम्म एसएमएस र अनलाइन भोटिङ हुँदै छ ।
फाउन्डेसनका अध्यक्ष कृष्ण फौजा मगरले आफ्नो खुबीले सिनियर हस्तीलाई पछाडि पारेकी तेरियालाई भोटमार्फत अगाडि जान सहयोग गर्न आग्रह गरे । कलर्स टीभीमा हरेक शनिबार सवा दस बजेपछि यो कार्यक्रम प्रसारण हुन्छ । डीआईडी लिटिल मास्टर विजेता भएपछि तेरियाले देशविदेशमा नेपाली झन्डासहित आफ्नो नृत्य देखाएकी थिइन् ।