चीनले आफ्ना नागरिकलाई कोभिड १९ विरुद्धको भ्याक्सिन लगाउन सुरु गर्यो
Monday, August 24th, 2020, 11:40 am
amit
एजेन्सी, ८ भदौ । चीन सरकारले कोरोना भाइरस महामारीको नियन्त्रणका लागि आफ्ना नागरिकलाई खोप लगाउन थालिएको दाबी गरेको छ।
चीनको कोभिड १९ भ्याक्सिन डेभलपमेन्ट टास्क फोर्सका प्रमुखसमेत रहेका राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी चङ चोङवेइले आपतकालीन प्रयोगका लागि खोप लगाउन सुरु गरिएको जानकारी दिएका छन् ।
चङका अनुसार चिनियाँ भ्याक्सिन म्यानेजमेन्ट कानुनको समन्वयमा शनिबार बेइजिङको घरेलु कम्पनीबाट खोप लगाउन थालिएको हो ।
शनिबार राति चिनियाँ केन्द्रीय टेलिभिजन (सीसीटीभी) मा बोल्ने क्रममा चङले उच्च खतरा भएका मानिस जस्तै स्वास्थ्यकर्मी, महामारी नियन्त्रक र भन्सार कर्मचारीमा खोप प्रयोग गर्न कानुनी अनुमति प्राप्त भएको बताएका छन् ।
आपतकालीन प्रयोगका लागि दिएको आवेदनअनुसार चीनको केन्द्र सरकारले व्यापक छलफल र अध्ययनपछि जुन २४ मा योजनालाई अनुमोदन गर्दै २२ तारिखदेखि खोप लगाउन अनुमति दिएको चङले बताएका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार हालसम्म विश्वमा ६ वटा खोप तेस्रो चरणको परीक्षणका लागि तयार भएका छन्, तीमध्ये ३ वटा खोप चीनले विकास गरेको हो ।