महिला यु–१९ एसिया कप : नेपाल ‘सुपर फोर’मा
Tuesday, December 17th, 2024, 7:17 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमान्डौं, २ पुस
नेपाल समूहको उप विजेता बन्दै एसीसी वुमन्स यू–१९ एसिया कप क्रिकेटको सुपर फोरमा प्रवेश गरेको छ । पाकिस्तान रहेको समूहमा नेपालले दोस्रो खेलमा भारतसँग अंक बाँडेको हो ।
भारतसँग अंक बाँडेपनि नेट रनरेटका आधारमा नेपाल उपविजेता बन्यो । भारत र नेपालले समूहबाट समान तीन तीन अंक बटुलेका छन् । पाकिस्तान अंक विहीन भएर पुछारमा रहदै प्रतियोगिताबाट बाहिरिएको छ ।
भारतविरुद्ध पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर ९४ रन बनाएको थियो । नेपालका लागि कप्तान पुजा महतोले २५ र अलिसा यादवले २० रन बनाउनु बाहेक अन्यको प्रर्दशन खराब रह्यो । अन्य कुनै ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
भारतकी पारुनिका सिसौदाले नेपालको ४ विकेट चट्काईन् । जवाफी ब्याटिङ थालेको भारतले ३ दशमलव १ ओभरमा बिना विकेटको क्षतिमा २८ रन बनाएको थियो । त्यसपछि वर्षाले खेल रोकियो र दुवै टिमले समान एक एक अंक बाँडेका थिए ।
समूह बीबाट बंगलादेश पहिलो र श्रीलंका दोस्रो बन्दै सुपर फोरमा प्रवेश गरेका छन् । नेपालले अब सुपर फोरमा आगामी बिहीबार श्रीलंकासँग र शुक्रबार बंगलादेशसँग खेल्नेछ ।