गिरीको नेतृत्वमा डब्लुडब्लुजे बाँकेको नयाँ कार्यसमिति चयन
Sunday, December 22nd, 2024, 8:37 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ६ पुस
सावित्री गिरीको अध्यक्षतामा क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे) बाँकेको नयाँ कार्यसमिति चयन गरिएको छ । क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष अमृता केसीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका अध्यक्ष लिला शाहको प्रमुख आतिथ्यतामा शनिबार नेपालगन्जमा सम्पन्न १२औं साधारणसभा र छैठौं अधिवेशनले सर्वसम्मतरुपमा अध्यक्षमा गिरीलाई अध्यक्ष चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा बिमला चौधरी, सचिवमा अमृता जैशी (निशु), सह–सचिवमा सुमित्रा चौधरी र कोषाध्यक्षमा सुमित्रा पण्डित चयन हुनु भएको छ । यसैगरी सदस्यहरुमा सजल गैरे, सुनिता बर्मा, मन्जु रिजाल, साहिदा बानो, सरला बराल र सविता चन्द ठकुरी लगायत ११ सदस्यीय कार्यसमित चयन हुनु भएको छ । क्रियाशिल पत्रकार महिलाको अधिवेशनमा निवर्तमान कोषाध्यक्ष निशु जोशीले प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि शाहले पत्रकार महिलाको क्षमता विकासका लागि पहल गर्ने बताउनु भयो । उहाँले आफूले जीवनको लामो समय पत्रकारिता क्षेत्रमा बिताएकाले अबका दिनमा नयाँ पुस्तासंग हातेमालो गर्न पाएकोमा खुसी व्यक्त गर्नु भयो ।
कार्यक्रममा क्रियाशिल पत्रकार महिलालाई आर्थिक रुपमा सहयोग गर्ने संस्था तथा व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनबाट निर्वाचित संघ, प्रदेश र जिल्लाका पत्रकार महिला र केही पदाधिकारीलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा क्रियाशिल पत्रकार महिला बाँकेका संस्थापक अध्यक्ष अक्षरी पोखरेल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, प्रदेश सचिव सरला सुवेदी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, उपाध्यक्ष करुणा शाह, प्रेस युनियन बाँकेका अध्यक्ष प्रिया स्मृति ढकाल, सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का केन्द्रिय सदस्य आरिफ अन्सारी, संचारिका समूह लुम्बिनी प्रदेशका उपाध्यक्ष रुपा गहतराज लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
क्रियाशिल पत्रकार महिलाले आगामी दिनमा पत्रकार तथा श्रमजिवी महिलाका सवालमा निरन्तर सन्डे क्लब आयोजना गर्ने, फेलोसिप कार्यक्रम तथा तालिम संचालन गर्ने र पत्रकार महिलाको हकहितका लागि विभिन्न कार्यक्रम गर्ने योजना अधिवेशनमा प्रस्तुत गरेको छ ।

………..