बागेश्वरीमा सोमबार महाआरती
Sunday, December 22nd, 2024, 8:48 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ६ पुस
नेपालगन्जको वागेश्वरी मन्दिरमा आगामी सोमबार पुस ८ गते सन्ध्याकालिन महाआरतीको १००औं संस्करण हुने भएको छ । धार्मिक पर्यटनको सम्भावना बढाउने उद्देश्यले सन्ध्याकालिन आरतीको १००औं संस्करणलाई महाआरतीको रुपमा मनाउन लागिएको हो ।
पश्चिम नेपालको प्रमुख धार्मिक स्थलको रुपमा चिनिएको बागेश्वरी मन्दिरमा २०७९ माघ १६ गते सोमबार देखि सन्ध्याकालिन महाआरतीको शुभारम्भ गरिएको थियो ।
बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समिति, नेपालगन्ज उप–महानगरपालिका र नाटा बाँके च्याप्टरको संयुक्त आयोजनामा बागेश्वरी मन्दिरमा महाआरतीको आयोजना गरिदै आएको छ ।
शनिबार पत्रकार सम्मेलन गर्दै आयोजक संस्थाले १००औं संस्करणलाई विशेष बनाउने तयारी गरेको बताएको छ । बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका कार्यवहाक अध्यक्ष ओम प्रकाश आजाद र महाआरती संचालन तथा व्यवस्थापन उपसमिति संयोजक सुनिल सिंह हमालले तयारीको बारेमा जानकारी गराउनु भएको थियो ।
ऐतिहासिक महत्व बोकेको शंक्ति पिठ बागेश्वरी मन्दिरमा संचालित सन्ध्याकालिन महाआरतीबाट हालसम्म १९ लाख ८५ हजार ९ सय १८ रुपैयाँ आम्दानी भएको छ भने १७ लाख ५ हजार १ सय ९३ रुपैयाँ खर्च भएको आयोजक समितिले जनाएको छ ।
बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका कार्यवहाक अध्यक्ष ओम प्रकाश आजादले बागेश्वरी मन्दिरको भौतिक पुर्वाधार विकाससँगै सन्ध्याकालिन महाआरतीलाई थप व्यवस्थित बनाउने गरी काम गरिरहेको बताउनु भयो ।