जानकीमा सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
Sunday, December 22nd, 2024, 7:23 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
जानकी, ७ पुस
जानकी गाउँपालिकामा सातौं राष्ट्रपति रनिङ शिल्ड छनौट तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ । शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा आइतबारदेखि ९ गतेसम्म प्रतियोगिता हुनेछ । जिल्ला समन्वय समिति बाँकेका संयोजक प्रमुख अतिथि ज्ञानेन्द्र कुमार चौधरी र जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले संयुक्तरुपमा प्रतियोगिताको उद्घाटन गरेका थिए ।
वडा नम्बर ३ मानपुरस्थित नेपाल राष्ट्रिय कन्या आधारभूत विद्यालयको खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि चौधरीले पढ्ने र खेल्ने उमेरमा अहिले धेरै विद्यार्थीले नशा सेवन गरिरहेको अबस्था रहेको बताउँदै कुलत छाडेर पढाई र खेलकुदमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए । उनले जानकी गाउँपालिकामा विद्यालयहरुको नतिजा राम्रो नआएकाले अभिभावकहरु पनि सचेत हुनुपर्ने बताए ।
जानकीका अध्यक्ष खाँले विद्यालयमा राम्रो नतिजा नआएकाले शिक्षामा बजेट धेरै छुट्याएको र जानकीलाई शिक्षामा राम्रो बनाउनका लागि शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले जानकीका विद्यार्थी पढेर असल र सफल मान्छे बनेको देख्न चाहेको भन्दै त्यसको लागि पालिकाको तर्फबाट आफूले गर्नुपर्ने सहयोगमा कुनै कसर बाँकी नराख्ने बताए ।
पहिलो दिन छात्रहरुको भलिबलतर्फ दुई ग्रुपमा भएको खेलमा मावि बन्जारेगाउँ र ब्राइटस्टार इंग्लिस स्कुल विजेता भएका छन् । यस्तै छात्राहरुको कवड्डीतर्फ ग्रुपमा मावि भटनपुरवा, ब्राइटस्टार इंग्लिस मिडियम स्कुल, शिवपुरी मावि, जानकी मावि र शिवपुरी मावि विजेता भएका छन् ।
कार्यक्रममा उपाध्यक्ष रामप्यारी यादव र, प्रमुख प्रसासिकिय अधिकृत सुनिल नेपाली, प्रवक्ता टिकानाथ यादव, सामाजिक विकास समितिका संयोजक राम आचल धोवी, नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल पूर्व सभापति किरण कोइराला, महासमिति सदस्य लक्ष्मी नारायण शाह, नक्की खाँ, नेकपा एमालेका प्रतिनिधि, माओवादी केन्द्रका प्रतिनिधि लगायत विभिन्न संघसंस्थाका प्रमुखहरुले बोलेका थिए । प्रतियोगितामा जानकी गाउँपालिकामा रहेका ३९ वटा विद्यालयहरु मध्ये ११ वटा विद्यालय सहभागी भएका छन् ।