बैतडीमा पनि आजदेखि भदौ १४ गतेसम्म निषेधाज्ञा जारी
Monday, August 24th, 2020, 1:49 pm
amit
धनगढी, ८ भदौ । बैतडीमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन र नियन्त्रणलाई प्रभावकारी बनाउन जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम आजदेखि भदौ १४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।
बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीका अनुसार अत्यावाश्यक बाहेकका गतिविधि बन्द हुनेगरी आजदेखि निषेधाज्ञा जारी गरिएको हो ।
यो अवधिमा अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार, व्यवसाय सञ्चालन गर्न नपाइने उनले बताएका छन् । औषधि खाद्यवस्तु तथा अन्य अतिआवश्यक उपभोग्य वस्तु तथा सेवा खरिदको काममा बाहेक कुनैपनि व्यक्ति घरबाट निस्कन पाइने छैन ।
यस्तै अत्यावश्यक कार्यका लागि घर बाहिर निस्कदा अनिवार्य रुपमा मास्क प्रयोग गर्नुपर्ने र भौतिक दूरी कायम गर्नुपर्नेछ । अत्यावश्यक सामग्री लगायत मालबाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधन जिल्लाभित्र प्रवेश निषेध गरिएको छ ।
यसैगरी जिल्लाभित्र सबै प्रकारका निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ । औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टिन, आइसोलेसन, फोहरमैला व्यवस्थापन, बिरामी सवार सवारी भने सञ्चालन गर्न पाइने छ ।
कुनै पनि मेला, पर्व, महोत्सव र जात्रा सञ्चालन गर्न पाइने छैन भने भिडभाड र जुलुस गर्न पनि पाइने छैन । खाद्यान्न, तरकारी, दूध, फलफूल, माछा, मासु लगायत अत्यावश्यक बस्तुको हकमा विहान ६ बजेदेखि ९ बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछ ।